सप्तरी: अपहरणमा परेका एक बालकलाई सप्तरी प्रहरीले सकुशल उद्दार गर्न सफल भएको छ ।

सप्तरीको साबिक नर्घो गाविस वडा नं ८ (हाल राजगढ गाउपालिका वडा नं ३) का १२ बर्षीय बालकलाई प्रहरीले भारतबाट सकुशल उद्दार गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तकारीका अनुसार बालकको उद्दारमा प्रहरी उपरीक्षक(एसपी) राजेन्द्र विष्टको कमाण्डमा प्रहरी टोली परिचालन भएको थियो । टोलीले बैशाख १६ गते राती अपहरणकारीले भारतको सितामडी अन्तर्गत सिवहर भन्ने ठाउँमा रहेको होटलमा वेवारिसे छाडेको अवस्थमा फेलापारेको थियो । 'बालक अपहरणमा परेको पक्का भएपछि मेरै कमाण्डमा टोली खटिएको थियो । त्यसैक्रममा अपहरणकारीले सितामडीको सिवहर भन्ने ठाउँमा बालकलाई ल्याएर छोडेको अवस्थामा भेट्यौ,'एसपी विष्टले भने,'अपहरणकारीहरुको सम्वन्धमा थप अनुसन्धान तथा खोजतलास कार्य भईरहेको छ ।'

राजगढ गाउँपालिका ३ का भोलेन्द्र यादवले स्थानीय ठकन यादवको छोरीको विवाहमा भोज खान गएको आफ्नो १२ बर्षीय भान्जा सोही रातीको समय देखी हराएको भन्दै सप्तरी प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा हुलियासहित निवेदन दिएका थिए । प्रहरीले अनुसन्धान तथा खोजतलास गर्दै जाँदा बालक हराएको नभई अपहरणमा परेको खुलेको थियो । बालक अपहरणमा परेको खुलेपछि थप अनुसन्धान, खोजतलास र उद्दार कार्यको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख विष्ट आफै खटिएर सकुशल उद्दार गरेका थिए ।