धरान: वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पुर्वउपकुलपति डा.बीपी दासका भतिज एवं कम्प्युटर इञ्जिनियर राकेश दासलाई निलम्बन गरेको छ ।

शैक्षिक प्रमाणपत्र छानबिनको क्रममा गैरजिम्मेवारपुर्वक जवाफ दिएको र आचारसंहितासमेत उल्लंघन गरेको पाइएको भन्दै प्रतिष्ठानले उनलाई निलम्बन गरेको स्रोतले जनाएको छ । दासलाई ३ महिनाको लागि निलम्बन गरिएको छ । निलम्बनको पत्र उनलाई आज पठाए पनि उनी विदामा भएकोले बुझेका छैनन् । ‘शैक्षिक प्रमाणपत्र छानिबनको लागि सक्कल माग्दा दिएनन् । वर्किङ भिषामा पनि पोल्याण्ड जान लागेको थाह पाएपछि स्वीकृति नलिएको भन्दै निलम्बन गरेको छ,’स्रोतले भन्यो ।

पुर्व पुर्वउपकुलपति दासले नै आफ्ना भतिजलाई जागिर खुवाए र कम्प्युटर शाखा प्रमुख बनाएका थिए । विगतमा पनि दासको शैक्षिक प्रमाणपत्र विवाद उब्जिएको थियो । विगतमा रजिष्ट्रार मातहतमा रहेको कम्प्युटर शाखालाई अहिले अस्पताल निर्देशकको मातहतमा राखिएको छ । मंगलबार अस्पताल निर्देशकले नै दासलाई निलम्बन गरेको पत्र पठाएको अस्पताल प्रशासन स्रोतले जनायो ।

अस्पाताल निर्देशक डा.गौरीशंकर साहले दासलाई निलम्बन गरेको स्वीकार गरे । उजुरी परेपछि शैक्षिक प्रमाणपत्र भेरिफाई गर्न पटक पटक सक्कल शैक्षिक प्रमाणपत्र माग गर्दा पनि नबुझाएको साहले बताए । स्वीकृति नलिई विदेश काम गर्न जान लागेकोले पनि उनलाई निलम्बन गरिएको साहले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिनको लागि दासको शैक्षिक प्रमाणपत्र माग गरेकोले भेरिफाई गर्न सक्कल माग्दा नदिएको बताए ।

निलम्बनका परेका दासले भने पोल्याण्ड जाने प्रक्रियामा भएको स्वीकार गरे । त्यसैको लागि सक्कल प्रमाणपत्र बुझाएकोले प्रशासनले माग गरेको समयमा बुझाउन नसकेको उनले बताए । उनले रजिष्ट्रारबाट करिब ९ महिना अघि नै स्वीकृति लिएको दाबी गरे ।