ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भू–माफियाले दर्ता गरेको जमिनमा शहरीकरण” शीर्षकको समाचार छापिएको छ । मोरङको तत्कालिन डाँगीहाट ४ र हाल मोरङको बेलबारी नगरपालिका १० स्थित भाउन्ने चोकमा रहेको सृजना सामुदायिक वन क्षेत्रको २६ बिघा जग्गा हडपेर बिक्री गर्न खोज्नेहरुले भोगचलन गराउन दर्ता गराएको रिट गत भदौमा सर्वोच्चले खारेज गरिदिएपछि सो स्थान शहरको रुपमा विकास भइरहेको छ । भू–माफियाले हडपेको स्थानमा हाल प्रस्तावित हाँगीहाट रङ्गशाला, डाँगीहाट प्रहरी चौकी भाउन्ने, सृजना पार्क, सार्वजनिक सभाहल, इलाका वन कार्यालय, वित्तीय संघ संस्थाहरु र व्यवसायिक पसललगायत १ सय २० घरधुरी रहेका छन् । नरबहादुर तामाङ, मचिन्द्र बेघालगायत विभिन्न ११ जना व्यक्तिहरुले वन क्षेत्रको जग्गा आफ्नो भएको दाबी गर्दै भोगचलन गराइपाउँ भन्दै ििवभिन्न संघ संस्थालाई विपक्षी बनाई सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । तर, वन क्षेत्रको जग्गा सरकारकै भएको र व्यक्तिले भोगचलनका लागि गरेको दाबी नपुगेको भन्दै सर्वोच्चले गत भदौ तेस्रो हप्ता दाबी खारेज गरिदिएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “श्रीमानले कुटपिट गरेको आरोप” शीर्षकको समाचार छापिएको छ । अनाहकमा श्रीमानले निर्घात कुटपिट गरेको सरिता साहले आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका ५ का विजय साहले विनाकारण आफुलाई कुटपिटसहित विभिन्न लाञ्छना लगाएको सरिताले आरोप लगाएकी हुन् । विवाह बन्धनमा बाँधिएसँगै सरिता र विजय अमेरिका बस्दै आएका थिए । विजय साह र सरिता साह दुवै गैरआवासिय नेपाली नागरिक हुन् । यिनीहरु डिभी परेर त्यहाँका नागरिक भएर बस्दैँ आएका हुन् । तर, पछिल्लो केही समययता श्रमानले आफुसँग अमानविय व्यवहार गर्दै आफु र छोराहरुलाई पटक–पटक निर्घात कुटपिट गरेको बताए । विजय शाहले वैशाख १० गते जनकपुरमा पत्रकार सम्मेलन गरी श्रीमतीले आफ्नो सबै सम्पति बुबाको नाम गरी दिएपछि आफु घरबारविहीन भएको बताएका थिए । त्यही समाचारलाई बनाउँदै सरिताको माइतीपक्षले जनकपुरमा मंगलबार पत्रकार सम्मेलन गरी खण्डन गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “बाबुविरुद्ध उजुरी” शीर्षकको समाचार छापिएको छ । दश वर्षीय छोरीले आत्महत्या गरेपछि जवरजस्ती करणी प्रयास गरेको आरोपमा उनका बुबा पक्राउ परेका छन् । मोरङको बेलबारी नगरपालिका ११ की दश वर्षीय बालिकाले आत्महत्या गरेपछि १४ वर्षीय दिदीले दिएको उजुरीको आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आइतबार आफ्नै घरमा झुण्डिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । झुण्डिएको अवस्थामा बहिनी फेला परेपछि सोमबार १४ वर्षीय दिदीले झड्केलो बुबा विरुद्ध जवरजस्ती करणीको आरोपमा उजुरी गरेको प्रहरीले जनाएको छ ।

औजार : आजको औजार दैनिकमा “दलित वृद्धामाथि कुटपिट गर्ने आमाछोरीलाई जेल” शीर्षकको समाचार छापिएको छ । दलित वृद्धालाई आक्रमण गरेको आरोपमा मोरङ जिल्ला अदालतले आमा छोरीलाई जेल चलान गरेको छ । मोरङ लेटाङ नगरपालिका ३ भोगटेनीकी ७१ वर्षीय वृद्धा ििवभा रसाइलीलाई घरमै पसेर साँघातिक आक्रमण गर्ने सोही ठाँउका आमाछोरी तारा र रेनुका श्रेष्ठलाई मोरङ जिल्ला अदालतले सोमबार जेल चलान गरेको हो ।