भेनेजुयलाका विपक्षी नेता जुवान गुइदोले राष्ट्रपति निकोलास मदुरोको शासनकाल अन्त्य गराउन अन्तिम चरणको प्रयत्न गर्ने घोषणा गरेका छन् ।

उनले आफूलाई सेनाको समर्थन रहेको पनि दाबी गरेका छन् । हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग बसेको देखिन्छन् ।

गुइदोले राष्ट्रपति मदुरोको अवैध शासनको अन्त्यमा सघाउन सेनालाई आह्वान गरेका छन् । सेनाले अहिलेसम्म मदुरोलाई समर्थन गरिरहेको छ र ग्वाइदोलाई समर्थन गर्न अस्वीकार गरेको छ ।

ग्वाइदोले गत ज्यानुअरी महिनामा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए र बढी भन्दा बढी सैनिकहरूले उनलाई समर्थन गरेर राष्ट्रपति मदुरोले हत्याएको सत्ताको अन्त्य गर्न सघाउन आह्वान गरेका थिए । ग्वाइदोसँगको मुठभेडमा सेनाले सामान्यतया राष्ट्रपति मदुरोलाई नै समर्थन गरिरहेको छ ।

दुवै पक्षका समर्थकहरू राजधानी कराकसका विभिन्न स्थानमा भेला भैरहेका छन् । ग्वाइदोका समर्थक र सैनिकहरूबीच झडपहरू भैरहेका छन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रोनोले सरकारी टेलिभिजनमा बोल्दै सेना राष्ट्रपति मदुरोको पक्षमा रहेकोमा जोड दिएका छन् ।

उनले केही सैनिकहरूले गर्न खोजेका विद्रोहलाई आंशिक रूपमा पराजित गरिएको तर रक्तपात हुने सम्भावना बलियो रहेको चेतावनी दिएका छन् । यता अमेरिकाले पनि पछिल्लो बस्तुस्थितिलाई नियालीरहेको जनाएको छ ।