झापा: ईलामको चुलाचुली गाउँपालिकामा किशोरीलाई यौन दुर्ब्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई माफी मगाएर उन्मुक्ति दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राईले चिया पुर्याउन गएकी किसोरीलाई यौन दुर्ब्यवहार गरेको सार्वजनिक भएपछि केही दिनदेखी गाउँपालिकामा तनाव थियो । एक साताअघि चुलाचुली गाउपालिकाका कार्यकारी अधिकृत काजिमान राईले किशोरीलाई यौन दुर्ब्यवहार गरेका थिए । यो घटना बाहिरिएपछि स्थानीयबासी राईलाई कार्वाहीको माग गर्दै आन्दोलित बनेका थिए । स्थानीयको आन्दोलनको कारण बैशाख १६ र १७ गते गाउपालिकाको सम्पूर्ण कामकाज नै ठप्प बनेको थियो । सयौं सेवाग्राहीहरु मारमा परेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत राईले अपशब्द बोल्दै यौन दुर्ब्यवहार गरेको आरोप लागेको थियो । गाउँपालिकाको सेवा प्रवाह नै प्रभावित हुन पुगेपछि गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईको पहलमा माफी मगाएर घटना सामसुम पारिएको छ । स्थानीयले राईमाथि कार्बाहीको माग गरिरहे पनि माफी मगाएर घटना मिलाइएको हो । घटनालाई लिएर गए राति अबेरसम्म छलफल भएको थियो । छलफलमा राईलाई कारबाही नगरी माफी मगाएर उन्मुक्ति दिइएको हो ।