धरान(डेस्क): प्रदेश सभाको बैठकले १९ गते बिहिबारसम्म प्रदेश नं १ को नाम र राजधानी सम्बन्धमा प्रस्ताव दर्ता गर्न भनेपछि सबैको ध्यान नेकपातिर केन्द्रीत छ ।

प्रदेश नं १ मा दुई तिहाई बहुमत भएकोले नेकपाले के निर्णय लिन्छ भनेर सबैको चासो छ । नेकपाको प्रदेशको शीर्ष नेताहरु आज बिहानैदेखि सहमति जुटाउन आपसी छलफलमा छन् भने प्रदेश सांसदहरु पनि राजधानी विराटनगरबाट सार्न हस्ताक्षर संकलन गरिरहेका छन् । एक सांसदका अनुसार आज बिहान ११ बजे नेकपाको संसदीय दलको बैठक डाँकिएको थियो । तर,नेताहरुबीचमा सहमति नजुटेपछि बैठक ३ बजेलाई सारियो । अहिले पुनः संसदीय दलको बैठक भोली ११ बजेलाई तोकिएको छ । ‘भोली १ बजे त प्रदेशसभाको बैठक छ, २ घण्टामा के नै पो होला र ?’ नेकपाका एक सांसदले भने ।

नेकपाका नेता, मुख्यमन्त्री र मन्त्रीहरुको आन्तरिक छलफल जारी भइरहदा सांसदहरुले भने प्रदेशको स्थायी राजधानी विराटनगरबाट सार्नको लागि हस्ताक्षर संकलन अभियान गरिरहेका छन् । एक सांसदका अनुसार हिजो मंगलबार इटहरीमा पनि सांसदहरुको गोप्य भेला भएर राजधानीको बिषयमा हस्ताक्षर संकलन शुरु गरिएको थियो । ‘राजधानी इटहरी गोठगाउँ हुनुपर्छ भनेर हस्ताक्षर हिजो इटहरीबाट संकलन गर्न थालिएको थियो, ३५, ४० जना सांसदहरुले हस्ताक्षर गरिसक्नु भएको छ,’ती सांसदले भनिन्,‘आज पनि हस्ताक्षर संकलन अभियान जारी छ ।’

नेकपाका ती सांसदका अनुसार संकलन गरिएको हस्ताक्षर नेकपाको संसदीय दलको बैठमा बुझाउने गरी संकलन गरिएको हो । संसदमा दुई तिहाई बहुमत भएको नेकपाभित्र प्रदेशको राजधानी विराटनगरबाट सार्नुपर्ने पक्षमा अत्यधिक सांसदहरु छन् । मतदान हुने हो भने पनि विराटनगर राजधानी हुनुपर्ने मत अल्पमतमा पर्नेछ । त्यसैले आफ्नै सांसदहरुको यो मत बुझेर नेकपा नेतृत्व र सरकार असमञ्जसमा परेकोछ । ‘पार्टीले एउटा मात्र प्रस्ताव लैजानुपर्छ भनिरहेको छ, सामुहित प्रस्ताव हुनुपर्छ, व्यक्तिले अलग्गै लैजाने होइन भनिरहेको छ, तर कुरा मिलिरहेको छैन,’नेकपाका एक सांसदले भने ।

आज बिहानैदेखि नेकपाको प्रदेश इञ्चार्ज भिम आचार्य, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राई(हिमाल)ले निरन्तर नेकपाको केन्द्रीय सदस्य रहेका प्रदेश सांसद र सरकारका मन्त्रीहरुसँग एकपछि अर्को बैठक गरिरहेका छन् । शुरुमा नेतृत्वले मुख्यमन्त्रीसँग मात्र अलग्गै बैठक गरेको थियो भने अर्को बैठक नेतृत्व, सरकारका मन्त्री र केन्द्रीय सदस्य रहेका प्रदेश सांसदहरुसँग बसेको थियो । बैठक अझै निरन्तर जारी छ । मुख्यमन्त्रीसहित प्रदेश सरकारका अधिकांश मन्त्रीहरु विराटनगरलाई नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा छन् भने अधिकांश सांसदहरु सार्ने पक्षमा छन् ।