टोकियो: जापानका नयाँ सम्राट नारुहितोले म‌ंगलबार मध्यरातबाट १२६ औं राजाकोरुपमा जापानको राजगद्दी सम्हालेका छन् ।

उनलाई मंगलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने तरबारको प्रतिक, बहुमूल्य रत्न दिइएको थियो । समारोहमा पूर्व सम्राट अकिहितो पनि उपस्थित थिए । राजगद्दीमा आसिन भएपछि सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने र जनताको सुखदुःखमा साथ रहने प्रतिवद्धता जनाए । बुबा सम्राट अकिहितोले राजगद्दी त्यागेपछि उनी नयाँ राजा बनेका हुन् । जापानी इतिहासको दुई सय वर्षभन्दा बढीको अवधिमा स्वेच्छाले राजगद्दी त्यागेको यो पहिलो पटक हो ।
जापानमा सम्राटलाई राजनीतिक अधिकार छैन । तर जापानी राजतन्त्रले राष्ट्रिय प्रतिकका रुपमा जिम्मेवारी वहन गर्ने परम्परा छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो । उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो । जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो मानिन्छ । जापानी समाजमा इश्वरको रुपमा लिइने राजसंस्थाको प्रारम्भ इसापूर्व ६०० देखि भएको मानिन्छ । एजेन्सीको सहयोगमा