धरान(डेस्क): प्रदेश नं १ को नाम र राजधानीको सम्बन्धमा प्रदेशसभाले प्रस्ताव दर्ता गर्ने समय भोली बिहिबारसम्म मात्र दिएको छ । तर, आज बुधबारसम्म एउटा पनि प्रस्ताव दर्ता भएको छैन ।

प्रदेशको नाम र राजधानीको बिषयमा प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ को कुल ९३ सांसद संख्यामा नेकपाको ६७ सांसद छन् । जुन दुईतिहाई(६२) भन्दा बढी हो । त्यसैले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य दलहरु नेकपाले के निर्णय गर्ला भनेर प्रतिक्षामा छन् । प्रतिपक्षी कांग्रेसको प्रमुख सचेतक केदार कार्की राजधानी र नामबारे कांग्रेसको धारणा एउटै भएको दाबी गर्दै सत्ता पक्षको दलको निर्णयको प्रतिक्षामा रहेको बताए । ‘कांग्रेसको धारणा एउटै छ, मत विभाजन छैन,’प्रमुख सचेतक कार्कीले कपुरीन्यूजसँग भने,‘हामी सरकारवादी दलले के निर्णय गर्छ, त्यसको आधारमा निर्णय लिन्छौ ।’

सचेतक कार्कीका अनुसार प्रतिपक्षी दल(कांग्रेस)ले सहमतिको लागि सत्तापक्षको निर्णय पर्खिएको हो । सत्ता पक्षको दलले लिने निर्णय र प्रस्तावको आधारमा कांग्रेसले पनि राजधानी र नामको बिषयमा निर्णय लिने उनको भनाई थियो । ‘प्रतिपक्षले सत्तापक्षलाई सहमतिको लागि पर्खिएको हो, उहाँहरुले के प्रस्ताव गर्नुहुन्छ भनेर प्रतिक्षामा छौ,’उनले भने ।

कांग्रेसले भोली बिहिबार बिहान १० बजेलाई संसदीय दलको बैठक डाँकेको छ । आज नेकपाको संसदीय दलको बैठकबाट निर्णय हुने अपेक्षा गरेको कांग्रेस नेकपाको संसदीय दलको बैठक सरेपछि अन्योलमा परेको छ । ‘हामीले १० बजेलाई बैठक डाकेका छौ, नेकपाले ११ बजेलाई डाकेको छ । हाम्रो बैठक पनि नेकपाको पछि नै हुन्छ होला,’उनले भने ।