नयाँदिल्ली : भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ ।

भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीकाअनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।

प्रत्यक्षदर्शी एम एस डबासले चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीनजनालाई कुल्चिएको जानकारी दिए । ती युवा एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए ।

मृत्यु भएकामध्ये दुईजना १९ वर्षका र एकजना १८ वर्षका थिए । गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर, सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ ।