धरान(डेस्क): प्रदेश नं १ को नाम र राजधानीबारे आज दिनभर नेकपाको शीर्ष नेतृत्व आन्तरिक छलफलमा जुटेपनि सहमति हुन सकेन ।

शीर्ष नेतृत्वबीचमा नै सहमति जुट्न नसकेपछि आज बुधबार बिहान ११ बजे बोलाइएको संसदीय दलको बैठकसमेत स्थगित भएको थियो । संसदीय दलको बैठक बिहिबार बिहान ११ बजेलाई सारेर शीर्ष नेताहरु छलफलमा जुटेपनि सहमति जुट्न भने सकेन । दिनभर छलफल भएपनि सहमति नजुटेपछि बिहिबार बिहान ८ बजे पुनः शीर्ष पाँच नेताहरुबीच बैठक हुने गरी विनानिष्कर्ष बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ । ‘शीर्ष नेताहरुबीचमा सहमति हुन सकेन, भोली बिहान ८ बजे फेरी बैठक बस्ने गरि आज टुंगियो,’नेकपा स्रोतले भन्यो ।

बिहिबार बिहान नेकपाका प्रदेश १ इञ्चार्ज भीम आचार्य, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश १ अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सुरेशकुमार राई(हिमाल) र मुख्यमन्त्री शेरधन राईबीच पुनः बैठक बस्नेछ । यो बैठकबाट सहमति जुटेपछि मात्र बिहान ११ बजे संसदीय दलको बैठकमा प्रस्ताव लगिनेछ । स्रोतका अनुसार प्रदेशसभा इटहरी हुने गरी राजधानीबारे सहमति जुटाउन नेता आचार्यको प्रस्ताव छ । उनी एकैपटक नाम र राजधानीको निर्णय लिन चाहेको स्रोतको भनाई छ । 'मुख्यमन्त्री ज्यू पहिला राजधानीको बिषय टुंग्याउ, नामबारे पछि गरौं भन्दै हुनुहुन्छ,'स्रोतले भन्यो ।

नेकपाका प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्ले भने सहमतिको लागि विभिन्न चरणमा छलफल जारी रहेको बताउँछन् । सहमति नजुटेको कुरालाई अस्वीकार गर्दै उनले भने,‘नाम र राजधानी जस्तो गम्भीर बिषयलाई टुंगो लगाउनुछ, जनभावना, आवश्यकता र वस्तुगत स्थिति बुझेर निर्णय लिनुछ, त्यसैले समय त लाग्छ नि ।’ नाम र राजधानीको बिषय संसदको अधिकार क्षेत्र भएकोले सबैको अभिमत लिने र अन्य दललाई पनि मिलाएर अघि बढ्नुपर्ने भन्दै नेता काफ्लेले प्रक्रियाबाट तर सहमतिमा नै टुंगिने जिकिर गरे । ‘सदनको प्रक्रियाबाट नै टुंगो लाग्छ, तर सहमतिमा सहजरुपमा नै हुन्छ,’उनले दाबी गर्दै भने । बुधबार नेकपाका शीर्ष नेताहरुले विभिन्न चरणमा प्रदेशसभामा भएका केन्द्रीय सदस्य, स्थानीय केन्द्रीय सदस्य र प्रदेश मन्त्रीहरुसँग पनि छलफल गरेको थियो ।