धरान(डेस्क):प्रदेश १ को नाम र राजधानी तोक्ने विषयमा वैशाख १९ गतेभित्र प्रस्ताव गर्न प्रदेशसभाले आह्वान गरेपछि नाम र राजधानीको बिषय पेचिलो बनेको छ ।

अब १९ गते(बिहिबार)भित्र सांसद तथा दलले नाम र राजधानीबारे प्रदेशसभामा प्रस्ताव पेश गर्नुपर्ने छ । आज बुधबारसम्म कुनै दल वा सांसदले स्थायी राजधानी र नामबारे प्रस्ताव दर्ता गराएका छैनन् । अस्थायी राजधानी विराटनगरबाट अन्यत्र सार्नुपर्ने भनेर नेकपाभित्रै सांसदहरु हस्ताक्षर संकलन अभियानमा छन् । उनीहरु इटहरी र गोठगाउँ क्षेत्रमा राजधानी स्थानान्तरण गर्न चाहन्छन् । नेकपाको संसदीय दलको बैठकमा यो हस्ताक्षर बुझाउने सांसदहरुको योजना छ । तर, बिहिबार बिहान शीर्ष ५ नेताहरुबीचमा हुने बैठकले गर्ने निर्णयमा यो भर पर्नेछ । 'पार्टीले ह्विप नलगाउने हो भने राजधानी विराटनगरबाट इटहरी सर्ने पक्का छ,'नेकपाकै सांसदले भने ।

यस्तै, प्रदेश १ को नाम के राख्ने भनेर पनि नेपाको शीर्ष नेताहरुबीच बिहान हुने बैठकमा भर पर्नेछ । हुन त यसअघि विभिन्न दल र संघसंस्थाहरुले किराँत, सगरमाथा, कोशी, लिम्बुवान वा विराट हुनुपर्ने प्रस्ताव गरेको थियो । नेकपाभित्र भने कोशी प्रदेशमा सहमति जुटाउन कसरत भइरहेको छ । यद्यपी, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले विभिन्न कार्यक्रमहरुमा प्रदेशको नाम किरात हुनुपर्ने भन्दै अभिव्यक्ति दिएकोले प्रदेशको नाम कोशीसँग किरात पनि जोडिनसक्ने नेकपाकी एक सांसदको भनाई छ । 'बहुपहिचान पनि जोड्नुपर्छ भनेर छलफल चलिरहेको छ,'नेकपाकी सांसद भन्छिन्,'किरात कोशी वा किरात सगरमाथा राख्नुपर्छ भनेर समहतिको प्रयास हुदैछ ।'

पुर्वमाओवादीका नेता र सांसदहरु किरातसँग सकरात्मक छन् । मुख्यमन्त्री शेरधन राई पनि किराँत फुर्को मात्र भएपनि राख्ने पक्षमा भएको बताइन्छ । तर, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की भने कोशी वा सगरमाथा मध्ये एउटा नाम राख्ने पक्षमा छन् । कोशी वा सगरमाथा राख्दा त्यसले सबैको प्रतिनिधित्व हुने उनको भनाई छ ।