ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ज्यान मार्ने धम्की दिँदै यौनधन्दामा” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिका क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुमा किशोरीहरुलाई ज्यान मार्ने धम्की दिएर यौनधन्दामा लगाउने गरेको पाइएको छ । प्रहरीले गरेको अनुसन्धानबाट बाहिर हेर्दा होटल र रेष्टुरेण्टको आवरण देखिने तर भित्र कलिला किशोरीहरुलाई डर, त्रास देखाएर जबरजस्ती ग्राहकसंग यौन सम्बन्ध राख्न बाध्य पारिने गरेको पाइएको छ । रेष्टुरेण्टको आवरणमा बालिका र किशोरीलाई जबरजस्ती अवैधरुपमा यांैनधन्दा लगाउने विराटनगर ९ रोडसेस चौकस्थित टिफिन रेष्टुरेण्टको सञ्चालिकासहित ४ जना पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान गर्दा उनीहरुले पनि डर, त्रास देखाएर किशोरीहरुलाई यौनधन्दामा लगाएको भेटिएको जनायो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पैसा उठाएर दलाल फरार” शीर्षकको समाचार छापिएको छ । क्यानडा जाने आशमा ठगिएको भन्दै ६ जना युवा श्रम तथा रोजगार कार्यालय ििवराटनगरमा उजुरी दिएका छन् । मोरङको कटहरी २ आदर्श टोलका अशोककुमार राजवंशीसहित ६ जना युवा २४ लाख ठगी गर्ने दलाल राजन राजवंशीलगायतको समूहलाई पक्राउ गरी कारबाहीको माग गर्दै श्रम कार्यालय पुगेका हुन् । उनीहरुले राजनलाई पटक–पटक गरी ४ लाख रुपैयाको दरले बुझाएको बताइएको छ । राजनलगायतको समूहले क्यानडा पठाउने भन्दै अशोकसहित मोरङको सुनवर्षी नगरपालिका २ का राजु राजवंशी, श्रवण राजवंशी, सुनवर्षी ९ का लक्ष्मण सहनी र दयानन्द सहनीलाई दिल्लीमा पुर्याएर अलपात्र पारेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “नाम मिथिला, भाषा मैथिलीको माग” शीर्षकको समाचार छापिएको छ । जनकपुरमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसिरहेका बेला बम विस्फोट भएको सात वर्ष पुरा भएको छ । वि.सं. २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपुर्ण धर्नामा बसिरहेका बेला बम विस्फोट भएको थियो । बम विस्फोटमा परि मिथिलाका चर्चित कलाकार रञ्जु झा, झगरु म्ण्डल, विमलशरण दास, दीपेन्द्र दास र सुरेश उपाध्यको मृत्यु भएको थियो भने २० जनाभन्दा बढी घाइते भएका थिए । बुधबार जनकपुरको रामानान्द चोकमा उनीहरुकै सम्झनामा ७ औँ श्रद्धाञ्जलीसभा मनाइएको छ । ंश्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै वक्ताहरुले प्रदेश नामकरण मिथिला र भाषा मैथिलि हुनुपर्नेमा जोड दिए ।