धरान(डेस्क): प्रदेशको नाम र राजधानी तोक्न आज पनि नेकपाको शीर्ष नेताहरु बिहानैदेखि छलफलमा जुटेको छ ।

प्रदेश १ मा दुई तिहाई बहुमत भएर पनि नेकपाभित्रै नाम र राजधानीबारे सहमति जुटाउन नेकपा नेतृत्वलाई सकस छ । हिजो बुधबार दिनभर विभिन्न चरणमा छलफल भएपनि सहमति जुट्न सकेको थिएन । आज पनि विभिन्न चरणमा सांसदहरुसँग नेतृत्वले छलफल गर्दैछ । आफ्ना सांसदहरुबीचमा सहमति जुटाएपछि नेकपा नेतृत्वले प्रमुख प्रतिपक्षीलगायत अन्य दलहरुसँग पनि सहमतिको लागि छलफल गर्नै बाँकी छ ।
नेकपाका स्रोतका अनुसार आज शीर्ष नेतृत्वले ३ चरणमा छलफल गर्दैछ ।

पहिलो चरणमा मोरङ र सगरमाथा अंचल सबै सांसदहरुसँग मात्र छलफल गर्दैछ भने त्यसपछि कोशी र मेची अंचलका सांसदहरुसँग नेतृत्वले छलफल गर्ने एक नेताले जानकारी दिए । ‘मोरङ र सगरमाथाका सांसदहरुसँग मात्र छलफल भइरहेको छ, त्यसपछि कोशी र मेचीका सांसदहरुसँग पनि गरेर ३ वटा मिटिङ हुन्छ,’नेकपा स्रोतले भन्यो ।

नेकपाका सांसदहरुभित्रै प्रदेश राजधानी इटहरी सार्न हस्ताक्षर संकलन अभियान शुरु भएपछि नेतृत्वलाई पनि निर्णय लिन कठिन परेको हो । मोरङका सांसदहरुबाहेक नेकपाकै अधिकांश सांसदहरु प्रदेश राजधानी विराटनगरको विपक्षमा छन् । उनीहरुले इटहरी र गोठगाउँ क्षेत्रमा प्रदेश राजधानी बनाउनुपर्ने भन्दै हस्तक्षर संकलन अभियान चलाएका हुन् । मतदान हुने हो भने विराटनगरबाट प्रदेश राजधानी स्थानान्तरण हुने पक्का छ ।

यस्तै, नामबारे पनि नेकपाभित्र एकमत छैन । साविक माओवादी केन्द्रका सांसद र मन्त्री पनि किरात नामकरणबारे सकरात्मक छन् भने नेकपा नेतृत्व कोशी वा सगरमाथा नामकरण गर्ने पक्षमा छन् । यस्तै, किरात कोशी वा किरात सगरमाथा नामकरणबारे पनि सांसदहरु लविङमा छन् । यसकारण पनि नेकपा नेतृत्व सकसमा परेको हो ।

आज सदन स्थगित हुने सम्भावना

प्रदेशसभाको बैठक आज दिउँसो १ बजेलाई तोकिएको छ । तर, आज नेकपाभित्रै र अन्य दलसँग पनि सहमति जुट्ने सम्भावना न्युन छ । त्यसैले आजको सदनको बैठक स्थगित हुने सम्भावना छ । ‘आजको सदनको बैठक सर्ने सम्भावना छ,’स्रोतले भन्यो,'नेकपाभित्र र दलहरुबीच सहमति भएन भने त सदन बसाएर मात्र काम छैन ।' नेकपा नेतृत्वले आज विपक्षी दलहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

प्रदेशसभाले आजसम्ममा प्रदेशको नाम र राजधानीको सम्बन्धमा प्रस्ताव पेश गर्न सुचना प्रकाशित गरेको थियो । अहिलेसम्म कुनै पनि दल वा सांसदले प्रस्ताव दर्ता गराएको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेकपाले के निर्णय गर्छ भनेर प्रतिक्षामा छ ।