धरान: प्रदेश १ को नाम र राजधानीबारे नेकपाको शीर्ष नेता र सांसदहरुबीचमा सहमति जुट्न नसकेपछि आजलाई बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्न आह्वन गरिएको प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको थियो । तर, प्रदेशसभामा दुई तिहाई बहुमत भएको नेकपाका सांसदहरुबीचमा नै नाम र राजधानीबारे सहमति जुट्न नसकेपछि सदनको बैठक नै प्रभावित हुन पुगेको हो । आज १ बजेलाई भनिएको प्रदेशसभाको बैठक २२ गते १ बजेलाई बोलाइएको छ ।

नेकपाका शीर्ष नेताहरु प्रदेशको नाम र राजधानीबारे सहमति जुटाउन हिजोदेखि नै निरन्तर छलफलमा छन् । तर, सहमति जुट्न सकेको छैन । नेकपाको संसदीय दलको बैठक आज बस्ने भनिएको छ । तर, कति बेला बस्छ भन्ने टुंगो लाग्न सकेको छैन । ‘सांसदहरुसँग अलग अलग बैठक भइरहेको छ, त्यसपछि संसदीय दलको बैठक आजै बस्ने कुरा छ,’नेकपा स्रोतले भन्यो । सहमति जुट्न नसकेकै कारण हिजो बुधबार नेकपाको संसदीय दलको बैठक स्थगित भएको थियो ।