काठमाडौँ: कुखुरामा मात्र देखिदै आएको बर्ड फ्लुको संक्रमण नेपालमा मानिसमा पनि देखिएको छ ।

बर्डफ्लु (एच फाइभ एन वान)बाट काभ्रेमा २१ बर्षीय एक युवाको मृत्यु भएको पाइएको छ । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

चैत १० गते ज्वरो र खोकीको लक्षण देखिएपछि काभ्रेका युवा उपचार गराउन अस्पताल गएका थिए । स्वास्थ्य जाँच पश्चात परीक्षणको लागि उनको र्‍याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। स्वासप्रस्वासमा समस्या भएर युवाको चैत १५ गते निधन भएको थियो ।

परीक्षणका लागि पठाइएको र्‍यालमा भएको भाइरस पहिचान हुन नसकेपछि उक्त नमुना जापान पठाइएको थियो । नमुनाको नतिजा बैशाख १७ गते मंगलबार नेपालले पाएको र नमुनाको नतिजामा बर्ड फ्लु उल्लेख भएको टेकुका प्रमुख शेरबहादुर पुनले जानकारी दिए । पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार केही दिनयता हेटौ‌ंडा, काठमाडौं, कास्की लगायतका सहरमा बर्ड फ्लु पुष्टि भएपछि करिब सवा लाख कुखुरासमेत नष्ट गरिएको छ।