काठमाण्डौं: बंगालको खाडीमा शक्तिशाली चक्रवात फनी सुरु भएपछि भारतमा लाखौ बासिन्दा सुरक्षित स्थानततर्फ लागेका छन् । यो चक्रवत भोली पूर्वी नेपाल नजिक आउने बताइएको छ ।

यो चक्रवात फनी बंगालको खाडीको मध्यभागमा छ । त्यहाँबाट विस्तारै उत्तर-पूर्वी दिशातर्फ लाग्ने र भारतको ओडिसाहुँदै उत्तर-पूर्वी दिशातर्फ जाने बताइएको छ। शुक्रबारसम्ममा पुर्वी नेपालको नजिक आउने मौषम पूर्वानुमान महाशाखाको भनाई छ । यसले पुर्वी नेपालमा पनि सामान्य असर पार्ने अनुमान छ ।

यो चक्रवातले भारतको ओडिसा राज्यमा सबैभन्दा बढी असर पार्ने बताइएको छ । त्यसैले ओडिसाको गोपालपुर, चाँदबलीलगायतका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको हो । बिहीबारसम्म ८ लाख बासिन्दालाई सुरक्षित ठाउँतर्फ लगिएको भारतीय सञ्चारमाध्यमहरुले बताएको छ । ओडिसामा सुरक्षाकर्मीका जहाज र हेलिकप्टर पनि तयारी अवस्थामा राखेको छ। यहाँका एघार जिल्ला प्रभावित हुने भएकाले जतिबेला पनि परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो।

आन्ध्र प्रदेशमा पनि बर्षा सुरु भएको जनाइएको छ। यो क्षेत्रमा एक सय ७५ देखि दुई सय किलोमिटर प्रतिघण्टाका दरले फनी आउने अनुमान छ । यसबाट जोगिन आज र भोली रेल बन्द गरिएको छ । फनीको आपतकालिन उद्दारका लागि आन्ध्र प्रदेशमा ४१, ओडिसामा २८ र बंगालमा पाँच टिम तैनाथ गरिएको सरकारले जनाएको छ । तीन वटै राज्यका विद्यालय बन्द छन् भने तटीय क्षेत्रभन्दा टाढा जान स्थानीय बासिन्दालाई सुचना जारी गरिएको छ ।

नेपालमा प्रभाव नपरे पनि भोली र पर्सी पुर्वी र मध्यक्षेत्रमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जनसहित वर्षा र हावाहुरी पनि चल्ने छ भने आइतबारदेखि मौसम सफा रहने भनिएको छ ।