धरान:प्रदेश नं १ को नाम र राजधानीबारे आज बिहिबार दिनभर नेकपा शीर्ष नेतृत्वले आफ्ना सांसदहरुको धारणा सुनेका छन् ।

प्रदेश स्थायी राजधानी र नामबारे संसदीय दलबाट निर्णय लिनुअघि नेकपाको शीर्ष नेतृत्वले आफ्ना सांसदहरुको मत लिएका हुन् । प्रदेश सभामा दुई तिहाई बहुमत भएको नेकपाका सांसदहरुबीचमा राजधानी र नामलाई लिएर एकमत नहुने अवस्था आएपछि शीर्ष नेतृत्वले सांसदहरुसँग छलफल चलाएको हो । नेकपाका एक सांसदका अनुसार शीर्ष नेताहरुले सबैभन्दा पहिला मोरङ र साविक सगरमाथा अंचलका सांसदहरुसँग छलफल गरेका थिए । त्यसपछि, मेची र कोशी अंचलका सांसदहरुसँग पनि क्रमश छलफल गरेका थिए ।

ती सांसदका अनुुसार नेताहरुले राजधानी र नामबारे धारणा के हो ? भनेर सोधेका थिए । सांसदहरुले पनि खुलेरै राजधानी इटहरीमा हुनुपर्ने मत राखे भने नामबारे पनि कोशी वा सगरमाथासँग किरात जोड्नुपर्नेमा जोडदिए । ‘बहुमत सांसदहरुले राजधानी इटहरी भनेर प्रष्टैसँग भन्यौ, अधिकतम मत इटहरीको पक्षमा देखियो,’सांसदले भने,‘नामबारे पनि किरात जोड्नैपर्छ भन्नेमा आदिवासी जनजाति र पुर्वमाओवादीका सांसदहरुको मत छ ।’

नेताहरुले बहुमतको कदर गछौं भनेपनि कसरी गर्छन् भन्ने अन्योल भएको ती सांसदको भनाई छ । नेताहरुले अस्थायी राजधानी विराटनगर भएकोले राजधानी अन्यत्र सार्दा नेकपाले सारेको भन्ने नराम्रो सन्देश जाने भन्दै सम्झाउन प्रयत्न गरेका थिए । सांसदहरुसँग नेकपाको प्रदेश इञ्चार्ज भीम आचार्य, सहईञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई(हिमाल) र मुख्यमन्त्री शेरधन राईले छलफल गरेका थिए ।

शीर्ष नेताले शुक्रबार बिहान के गर्ला निर्णय ?

नेकपा शीर्ष नेताहरुले बिहिबार दिनभर प्रदेश राजधानी र नामबारे धारणा बुझेपछि संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको छ । उक्त बैठकले नेकपाले नाम र राजधानीबारे निर्णय गर्नेछ । तर, संसदीय दलको बैठक अघि नै शीर्ष ५ नेताहरुको बैठकले ठोस निर्णय गर्ने नेकपाका एक नेताले जानकारी दिए । ‘पार्टीले निर्णय त पहिला नै लिइसकेको हो । सांसदहरुको पनि मत बुझ्न छलफल गरिएको हो । अब संसदीय दलको बैठकले आवश्यक निर्णय लिन्छ, तर त्यसअघि बिहान शीर्ष नेताहरु बसेर निर्णय लिनेछ,’नेकपाका एक नेताले भने ।

यसअघि, नेकपाको प्रदेश सचिवालय बैठकले नाम र राजधानीबारे निर्णय लिइसकेको छ । तर, प्रदेश सांसदहरुको फरक मत पाएपछि नेकपा नेतृत्वले एकमत बनाउन आफ्नै सांसदहरुसँग निरन्तर छलफल चलाएको हो । सहमति जुटाउनको लागि प्रदेशसभा इटहरी सार्ने निर्णय हुनसक्ने प्रवल सम्भावना भएको नेकपा स्रोतको भनाई छ । संसदीय दलको बैठकअघि बिहान ११ बजे शीर्ष ५ नेताको बैठक हुनेछ । उक्त बैठकमा प्रदेश इञ्चार्ज भीम आचार्य, सहईञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई(हिमाल) र मुख्यमन्त्री शेरधन राई हुनेछन् ।