ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “राजधानी हल्लाले इटहरीबासीमा खुशीयाली” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को नाम र राजधानी घोषणाको विषय फेरी एकपटक चर्चामा छ । वैशाख २० गते घोषणा गर्ने तयारी गरेको प्रदेश सरकार अन्तिम कसरतमा छ । राजधानीका लागि दावी गर्दै आएका इटहरीको नाम पुनः फेरि चर्चामा आएपछि इटहरीबासी उत्साहित बनेका छन् । प्रदेश एकको नाम र राजधानीका लागि प्रदेश सांसद, सरकार र नेकपाभित्र रस्साकस्सी चलिरहेको छ । वैशाख २० गते घोषणा गर्ने तयषरी गरेको प्रदेश सरकार नेकपाभित्रको मत विभाजनले अप्ठ्यारोमा परेको छ । मत विभाजन भएपछि नेकपाको संसदीय दलको बैठक नै स्थगित हुँदै तीन दिन लम्बिएको छ । यो अवस्थामा प्रदेश १ राजधानीका लागि विभिन्न शहरसँगै इटहरीको चर्चा एकाएक बढेको हो । प्रदेशका राजधानी साँसदले स्थायी राजधानी इटहरी हुनुपर्छ भन्ने मत जाहेर गरेको तथ्य बाहिर आएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “बलात्कार आरोपमा उद्योगी पक्राउ” शीर्षकको समाचार छापिएको छ । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले विराटनगरका एक उद्योगीलाई पक्राउ गरेको छ । आफ्नै उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ का दीपक गौतमलाई पक्राउ गरेको हो । महिलाले जाहेरी दिएपछि गौतमलाई विहीबार जबरजस्ती करणी अन्तर्गतको मद्दा चलाउन अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

औजार : आजको औजार दैनिकमा “युवा नहुँदा स्वदेशमा मजदुर अभाव” शीर्षकको समाचार छापिएको छ । सुनसरीमा अधिकांश युवाहरु वैदेशिक रोजगारमा गएकाले खेतीपाती गर्नका लागि मजदुर (पुरुष) को अभाव भएको छ । वार्षिक सुनसरीबाट १६ हजार पुरुषहरु वैदेशिक रोजगारमा भएकाले मजदुरको अभाव भएको किसानहरुले बताएका छन् । प्रत्येक गाउँटोलबाट रोजगारीलाई युवाहरु विदेश गएकाले खेतीपातीका लागि कृषि मजदुरको अभाव भएको अगुवा कृषक रामवृक्ष मेहताले बताए । गाउँका युवाहरु विदेश गएकाले जसोतसो महिलाहरुले खेतीपाती धान्दै आएको मेहताको भनाई छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “अलैचीको मूल्य घट्यो” शीर्षकको समाचार छापिएको छ । अलैँचीको मूल्य दिनहुँ घट्न थालेपछि अलैँची किसान निराश बनेका छन् । अलैँचीको मूल्य बढ्ने आशमा रहेका ताप्लेजुङका किसान दैनिक २ हजार रुपैयाँ मनका दरले मूल्य घट्न थालेपछि निराश बनेका हुन् । वैशाख १७ गते साविक मूल्यबाट प्रतिमन ८ हजार रुपैयाँले वृद्धि भएर ३२ हजार रुपैयाँ कायम भएको अलैँचीको मूल्य त्यसको दुई दिनमै वेशाख १९ गते २८ हजार प्रतिमनमा झरेको छ । अलैँची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारीका अनुसार प्रतिमन ३२ हजार रुपैयाँको अलैँचीको मूल्य यस वर्षकै सर्वाधिक थियो । तर, प्रतिदिन मनको २ हजार रुपैयाँको दरले मूल्य खस्कन थालेपछि किसान निरास भएको उनले जानकारी दिए ।