इटहरी : दुई साताअघि १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरीबाट १७ वर्षीय बालक पक्राउ परेका छन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता २०७४ अनुसार सहमति भएर पनि १८ वर्षमुनिका बालिकालाई यौनसम्पर्क राखेमा जबरजस्ती करणी मानिन्छ । त्यही आधारमा बालिकाका अभिभावकको उजुरीको आधारमा बालकलाई पक्राउ गरी मुद्दा चलाइएको हो । दुईदिन अघि चोरीमा संलग्न आरोपमा इनरुवा वडा नं. ३ का तीन जना बालक पक्राउ परे । पक्राउ पर्नेमा १३ वर्षदेखि १५ वर्ष उमेर समूहका छन् । यी तीनै जना बालक अहिलेसम्म स्कुल भर्ना भएका छैनन् । तर, यस क्षेत्रमा हुने सानातिना चोरीका घटनामा संलग्न हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इटहरीमा पनि केही दिनअघि दुई जना बालक पक्राउ परेपछि थप तीन जना पक्राउ परेका छन् । पक्राउ परेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका पाँचै जना बालक मोरङ सुन्दर हरैँचा वडा नं. ३ का हुन् । पक्राउ पर्ने समूहले इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरको नगदसंगै केही सामान, इटहरी वडा नं. २ को मुक्तिधाम मन्दिरको पैसा तथा साउण्ड सिस्टम चोरी गरेका थिए ।

–नागरिक पूर्वेली दैनिकबाट