इटहरी:प्रदेश १ को नाम र राजधानी तोक्ने प्रदेशसभाको अधिकार कुण्ठित हुने गरी पार्टीका नेताहरु छलफलमा ब्यस्त रहेको बेला इटहरीका विभिन्न दलका नेताहरुले भने संविधानको मर्म र भावना अनुसार टुंगोमा लगाउन आग्रह गरेका छन् ।

राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशसभाको संवैधानिक अधिकारलाई कुण्ठित नगर्न पनि आग्रह गरेका छन् । प्रदेशसभाले दोस्रो पटक बैशाख २२ गतेभित्र नाम र राजधानीको प्रस्ताव दर्ता गर्न सुचना जारी गरेपछि दुई तिहाई बहुमत भएको नेकपाले आफ्ना सांसदहरुसँग छलफल गरेको छ । सांसदहरु राजधानी विराटनगरबाट सार्ने पक्षमा देखिएपछि नेकपाका शीर्ष नेताहरु पार्टी ह्विप जारी गर्नेतर्फ अघि बढेको बेला इटहरीका विभिन्न दलहरुले आज विज्ञप्ती जारी गर्दै प्रदेशसभाको अधिकार कुण्ठित नगर्न आग्रह गरेका हुन् ।

press-release

नेपाली कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, तत्कालिन नेकपा एमाले इटहरीका रेवती प्रसाद घिमिरे, तत्कालिन नेकपा माओबादीका इटहरी अध्यक्ष भीम प्रसाद सुवेदी, संघीय समाजवादी फोरम इटहरी अध्यक्ष डिल्ली सुव्वा, राप्रपा नेपाल इटहरीका सचिव युगप्रिय निरौलाले संयुक्त विज्ञप्ती जारी गरेका छन् । नेताहरुले प्रदेशको नाम र राजधानीको बिषयले संसदमा प्रवेश पाएको उल्लेख गर्दै इटहरीका सबै राजनीतिक दलहरुको ध्यानाकर्षण भएको पनि जनाएका छन् । ‘प्रदेशको नाम र राजधानी तोक्ने संवैधानिक अधिकार प्रदेशसभाको हो । संविधानको मर्म र भावना अनुरुप राजधानी र नाम टुङगोमा पुरयाइनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ,’विज्ञप्तीमा भनिएको छ,‘यस बिषयमा प्रदेशका सांसदहरु सार्वभौम छन । गम्भीर जनचासोको विषयलाई विधिसम्वत ढँगले प्रक्रियावाट टुडग्याउने कुराले आन्तरिक पार्टी राजनीतिक भित्र सकारात्मक प्रभाव पार्छ । अन्यथा यस्ता बिषयले असहताहरु सृजना हुन सक्ने कुरामा सचेतता अपनाउन जरुरी छ ।’

शान्तिसुरक्षालाई समेत गम्भिर ढंगले मनन गरी नाम र राजधानी टुङ्गोमा पुर्याउन जरुरी रहेको नेताहरुले बताएका छन् । प्रदेशको नाम र राजधानीको बिषय दीर्घकालिन महत्वको रहेकोले वैज्ञानिक र ब्यवहारिक ढंगले निष्कर्षमा पुग्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । ‘प्रदेश नम्वर १ को राजधानीको सन्दर्भमा इटहरी उपयुक्त स्थान हो । इटहरीमा पर्याप्त भौतिक संरचना तथा पूर्वाधारहरु उपलब्ध छन । सयौँ विगाह सार्वजनिक जग्गा सहजै उपलब्ध छ,’विज्ञप्तीमा भनिएको छ,‘प्रदेश राजधानीका लागि एउटै कम्पाउण्ड भित्र अत्याधुनिक संरचना वनाउन सकिने जग्गा ब्यवस्थापन गर्न सकिन्छ । इटहरी उद्योग वाणिज्य संघको अत्याधुनिक चारतले भवन प्रदेशसभाका लागि प्रयोग गर्न उपलब्ध गराउने उद्योग वाणिज्य संघ इटहरीले निर्णय नै गरिसकेको छ ।’