धरान: प्रदेश नं १ ले यही बैशाख भित्रै प्रदेशको नाम र राजधानी पाउने सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

बिहिबार साँझ धरान फुटबल क्लबले २१ औं बुढासुब्बा गोल्डकपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सभामुख भण्डारीले यो कुरा बताएका हुन् । सभामुख भण्डारीले नियमावली संशोधन गरेर प्रदेशको नाम र राजधानी तोक्ने बाटो खुला गरेको र सर्वदलीय आग्रहअनुसार नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने समय बिहिबार बैशाख २२ गतेसम्मलाई सारिएको बताए । ‘दलहरु सहमति कायम गर्ने प्रयास गरिरहेका छन्, एकआपसमा नाम र राजधानीबारे छलफलमा जुटिरहेका छन्,’सभामुख भण्डारीले भने,‘प्रस्तावलाई दुई तिहाईले पास गर्नुपर्छ, मैले फेरि २२ गतेभित्र प्रस्ताव दर्ता गर्न मिति तोकेको छुँ, बैशाख भित्रै तपाई हामीले नाम र राजधानी पाउछौ ।’

अर्को प्रसंगमा सभामुख भण्डारीले धरान फुटवल खेलको लागि नर्सरी भएको धारणा व्यक्त गर्दै धरानलाई खेलकुदको राजधानी बनाउन सबैको साथ र पहल हुनुपर्ने बताए । धरान फुटबल क्लबले हिसाब पारदर्शी गरेकोमा प्रशंसा व्यक्त गर्दै सभामुख भण्डारीले विश्वास जितेर काम गर्दा सहयोगी हातहरु बढ्दै जाने पनि बताए । ‘हिसाबकिताब पारदर्शी भयो, यो ज्यादै राम्रो कुरा हो,’उनले भने,‘काम गर्दै जादा अनुभव पनि हासिल हुन्छ, विश्वास जित्न सक्यौ भने सहयोगी हातहरु बढ्दै जान्छ ।’