धरान(डेस्क): प्रदेश नं १ को नाम र राजधानीबारे निर्णय गर्न बसेको नेकपाको प्रदेश सरकार सञ्चालन संयन्त्रको बहुप्रतिक्षित बैठक विराटनगरमा भर्खर सम्पन्न भएको छ ।

बैठकले प्रदेशको नामकरणबारे पर्याप्त छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै अर्को संसद बैठकबाट टुगो लगाउने निर्णय गरेको छ भने जारी संसद अधिवेशनबाट राजधानी मात्र टुंगो लगाउने निर्णय गरेको छ । राजधानीबारे पनि वृहत विराट क्षेत्रको विराटनगर तोक्ने नेकपाको शीर्ष नेताहरुले निर्णय गरेको छ । तर, राजधानीको संरचनाहरु भने वृहत विराट क्षेत्रअन्र्तगतको विराटनगर, इटहरी र गोठगाउँसमेतलाई समेटेर लैजाने सहमति भएको नेकपा प्रदेश कमिटिका सचिव सुरेशकुमार राई(हिमाल)ले जानकारी दिए । ‘नामको बिषयमा विभिन्न प्रस्तावहरु आए । किरात, सगरमाथा, कोशी र चोमोलोङ्मा पनि आयो । एकअर्कामा जोडेर राख्ने कि अलग्गै राख्ने भन्ने पनि छलफल भयो,’सचिव राईले भने,‘नामबारे छलफल कम भएको महसुस भएर अर्को सेसनबाट टुंग्याउने र यो सेसनमा राजधानी टुंग्याउने निर्णय गरेका छौं ।’

सचिव राईका अनुसार राजधानीको संरचनालाई सरकारले परिभाषित गरेर त्यसअन्र्तगतको व्यवस्थापिका र कार्यपालिकाको संरचनाहरुलाई ती क्षेत्रहरुमा लगिनेछ । ‘राजधानी विराटनगर नै हुन्छ, तर राजधानीको संरचनाहरुलाई सरकारले परिभाषित गरेर वृहत विराट क्षेत्रअन्र्तग विराटनगर, इटहरी र गोठगाउँमा लैजाने निर्णय भएको छ,’उनले भने । राजधानीको संरचनाहरु वृहत विराट क्षेत्रभित्र मात्र हुनेछ भने कार्यपालिकाको संरचनालाई विराट क्षेत्रबाहिर पनि लैजान सकिने राईले बताए । उनले भने,‘सरकारको संरचना कार्यपालिकालाई विराट क्षेत्र बाहिर पनि लैजान सकिन्छ । धनकुटा, इलाम, उदयपुर, दमक जही पनि लैजान सकिन्छ, त्यसबारे सरकारले नै परिभाषित गरेर कार्यान्वयन गर्नेछ ।’

दुई दिनसम्म निरन्तर सांसदहरुको धारणा बुझेर सरकार सञ्चालन संयन्त्रले आज बिहानदेखिको बैठकबाट यस्तो निर्णय लिएको हो । सरकार संञ्चालन संयन्त्रमा मुख्यमन्त्री शेरधन राईसँगै प्रदेश इञ्चार्ज भिम आचार्य, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिव सुरेश कुमार राई रहेका छन् । पछिल्लो छलफलमा संसदीय दलका उपनेता टंक आङबुहाङ, भोजपुरबाट प्रदेश सांसद राजेन्द्र राई र प्रदेशका अर्थमन्त्री टंक आङ्बो पनि समावेश थिए । यो निर्णय आजै नेकपाको संसदीय दलको बैठकमा प्रस्ताव लगेर पारित गराउने र २२ गते संसदमा दर्ता गराउने सचिव राईले जानकारी दिए ।