धरान:पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा तीन दिने सडक उत्सव हुने भएको छ ।

होटल एशोसिएशन अफ धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै बैशाख २८, २९ र ३० गते १५ औं धरान सडक उत्सव २०७६ गर्ने जानकारी दिएको हो । घुम्न जाउँ धरान भन्ने नाराको साथमा धरान १२ स्थित चतरालाइनमा सडक उत्सव हुने मुल संयोजक सुवर्ण श्रेष्ठले बताए । धरानबारे देश विदेशमा प्रचार तथा पर्यटन प्रर्वद्धन गर्नु मुख्य उद्देश्य भएको उनले बताए ।

संयोजक श्रेष्ठका अनुसार उत्सवस्थलमा ८० भन्दा बढी स्टल हुनेछ । विगतमा स्थानीयबासीले उत्सवप्रति असन्तुष्टी जनाएका थिए । यसपाली भने प्रत्येक घरधनीसँग समन्वय गरेर स्वीकृति लिएकोले समस्या नहुने उनले बताए । ‘२०५५ सालदेखि शुरु भएको उत्सव नहुदा पनि राम्रो सन्देश जादैन । धरानको पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्छ, त्यसैले यसपाली स्थानीयसँग समन्वय गरेर नै लगाउदैछौ,’संयोजक श्रेष्ठले भने ।
एउटा स्टलको मुल्य ३ दिनमा ४ हजार मात्र लिइने संयोजक श्रेष्ठले बताए । साथै, ३ दर्जन जति निःशुल्क स्टल दिइने भएकोले पर्यटकहरुलाई सस्तो पर्ने उनले बताए । स्टलमा विभिन्न जातिय खाना तथा परिकारहरु, कृषि उत्पादन, घरेलु उत्पादन र फेन्सी सपहरुका साथै सस्तो बजारको पनि स्टल हुने आयोजकले जनाएको छ ।

ghantaghar

यस्तै, ३ दिन उत्सव अवधिमा पर्यटकहरुलाई लक्षित गरी ३ प्रकारको टुर प्याकेज भएको पनि संयोजक श्रेष्ठले खुलाए । टुर प्याकेजमा खाना विनाको एक दिने प्याकेज, खानासहितको प्याकेज र एक रात सहितको टुर प्याकेज रहेको आयोजकले जनाएको छ । यो टुर प्याकेज १ हजार ५ सयदेखि २ हजार ५ सयसम्मको छ । तीन दिने उत्सवमा मनोरञ्जनको लागि रस्सीतान प्रतियोगिता, साँझमा सांगीतिक कार्यक्रम पनि हुनेछ । उत्सव अवधिमा डेढ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको पनि आयोजकले जनाएको छ ।