धरान(डेस्क): प्रदेशको नाम र राजधानीको बिषयमा आवश्यक निर्णय गर्न प्रदेश १ का मुख्यमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुको बैठकले जारी संसद अधिवेशनबाट राजधानीमात्र टुंगो लगाउने सहमति गर्यो ।

पार्टी नेताहरुसँगको सहमतिबारे मख्यमन्त्री शेरधन राईले विस्तृत खुलाएनन् भने अन्य पार्टी नेताहरुले पनि खुलस्त पारेनन् । सञ्चारकर्मीहरुसँग मुख्यमन्त्री राईले सबैको भावना समेटेर सहमतिको विन्दु खोजिएको भने पनि कस्तो सहमति भनेर बोल्न नमिल्ने बताए । यस्तै, पार्टीका अन्य नेताहरुले पनि राजधानीबारेको सहमति स्पष्ट पार्न चाहेनन् । नेकपाका प्रदेश कमिटि सचिव सुरेशकुमार राई(हिमाल)ले कपुरीन्युजसँग मोवाइल सम्पर्कमा राजधानी विराटनगरलाई नै तोकेर संरचना भने इटहरी र गोठगाउँसम्म लैजाने सहमति भएको बताए पनि राजधानीको संरचनाको परिभाषा भने सरकारले नै गर्ने भन्दै अमुर्त कुरा गरे ।

नेकपाका नेता र मुख्यमन्त्रीले पनि प्रष्ट्याउन नचाहे पनि नेकपाकै सांसदहरुले भने राजधानीबारे पार्टीसँगको आन्तरिक सहमतिबारे खुलस्त पारेका छन् । नेकपाका बहुमत सांसदहरु विराटनगर केन्द्रीत राजधानीलाई स्थानान्तरण गर्न चाहन्छन् । उनीहरुले भित्रभित्रै हस्तक्षर संकलन अभियान चलाएका छन् । यो हस्ताक्षरलाई संसदीय दलको बैठकमा पेश गर्ने उनीहरुको योजना छ ।

नेकपाका सांसद लक्ष्मण तिवारीका अनुसार पार्टीले विराटनगरलाई मात्र राजधानी बनाउने निर्णय गर्न सक्दैन । बहुमत सांसदहरु विराटनगर राजधानीको विपक्षमा भएकोले पार्टीले त्यस्तो निर्णय गर्न नसक्ने दाबी गरे । विराटनगर राजधानी बनाउने निर्णय पार्टीले गर्न पनि नसक्ने उनले बताए । ‘प्रदेश नं १ को राजधानी विराटनगर होइन, वृहत्तर विराट क्षेत्रमा रहनेछ भन्ने हुन्छ,’पार्टी र सांसदहरुबीचको समझदारीबारे तिवारीले भने,‘त्यसपछिको बुँदा नं १ मा मुख्यमन्त्री, मन्त्रीपरिषद र मन्त्रालयहरु वृहत्तर विराट क्षेत्रअन्र्तगतको विराटनगर महानगरपालिकामा रहनेछ भन्ने हुन्छ । बुँदा नं २ मा प्रदेशसभा र संसद सचिवालय वृहत्तर विराटक्षेत्रअन्र्तगतको इटहरी उपमहानगरपालिकामा रहनेछ भन्ने हुन्छ ।’

पार्टीले गर्ने निर्णय यही हुने र सांसदहरुलाई आउने ह्विप पनि यही हुने सांसद तिवारीले बताए । ‘नाम अर्को अधिवेशनबाट टुंगो लाग्छ, राजधानीको बिषयमा हुने निर्णय चै यो हो । विराटनगर नै राजधानी हुन्छ भनेर निर्णय पार्टीले गर्न सक्दैन,’उनले ठोकुवा गरे ।

अर्का प्रदेश सांसद सर्वध्वज साँवाले पनि वृहत्तर विराट क्षेत्रमा राजधानी रहने पार्टीका शीर्ष नेता र सांसदहरुको भद्र सहमति भएको बताए । राजधानी विराटनगरमा हुने भन्ने पार्टीको निर्णय हो भने आइतबार हुने संसदीय दलको बैठकमा जोडले आवाज उठाउने सांसद साँवाले बताए । ‘नेताहरुले त्यस्तो निर्णय गर्छन् भन्ने लाग्दैन, हामीसँग राजधानी वृहत्तर विराट क्षेत्रमा रहनेछ भन्ने लेखिने सहमति छ,’उनले भने,‘मुख्यमन्त्री, मन्त्रीपरिषद र मन्त्रालय विराटनगरमा, संसद र सचिावलय इटहरी उपमहानगरमा आउने हो । राजधानी नै विराटनगर भनेर निर्णय भएको छ भने आइतबार संसदीय दलको बैठक बस्दैछ, त्यहाँ जमेर लडिन्छ ।’