धरान:धरानमा अन्तरराष्ट्रियस्तरको क्रिकेट खेल मैदान(रंगशाला) निर्माण हुने भएको छ ।

धरान १५ स्थित खोरिया बस्तीमा निर्माण हने क्रिकेट खेल मैदानको शुक्रबार वडा नं १५ का अध्यक्ष नरेश इवारमले शिलान्यास गरेका थिए । चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट यो खेल मैदानको लागि ५० लाख बजेट विनियोजन गरेको थियो । यो खेल मैदानको लागि सर्वे भएर रिपोर्ट आएपछि निर्माण कार्य थालिएको धरान उपमहानगरपालिकाअन्र्तगतको नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले जानकारी दिए । ‘सर्वे भएर रिपोर्ट पनि आइसकेको छ, त्यसैले निर्माण कार्य पनि थालनी गरिएको हो,’उनले भने ।

यो खेल मैदानलाई भक्तराज कन्दङ्वा क्रिकेट खेल मैदान नामकरण गरिएको छ । तेह्रथुम गृहजिल्ला भएका कन्दङ्वाप्रति सम्मान दर्शाउदै स्थानीयबासी एवं माओवादी नेता अइन्द्र बिक्रम बेघाको पहलमा करिब दशकअघि यो खेलमैदान संरक्षणको थालनी भएको थियो । उनकै पहलमा प्रदेश सरकारबाट चालु आर्थिक बर्षमा बजेट विनियोजन भएपछि क्रिकेट मैदानले आकार ग्रहण लिन शुरु गरेको हो । ‘अहिले ३ वटा पिच निर्माण हुन्छ । मैदानलाई लेभलिङ गछौं, र माटो पनि भछौं,’निर्माण समितिका अध्यक्ष श्रीप्रसाद बेघाले भने,‘प्रदेश सरकारबाट आएको बजेटले असार १५ सम्म क्रिकेट खेल्न उपयुक्त हुने मैदान बनाउछौ ।’

यो खेल मैदान २ सय मिटर लम्बाई र २ सय मिटर चौडाई क्षेत्रफलमा रहेको छ । त्यसभित्र ६५ मिटरको डायमिटरमा क्रिकेट मैदान तयार हुन्छ । हाल सर्वे अध्ययनबाट वाउन्ड्री र पेभेलियनसमेत बनाउनलाई करिब ७ करोड खर्च लाग्ने अनुमान गरिएको छ भने प्याराफिटसहित ६० करोड बढी लागत पुग्ने अनुमान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष राईले बताए । ‘डिपिआरको पनि तयारी हुन्छ । निर्माण हुदै गरेको पनि अन्र्तराष्ट्रियस्तरकै क्रिकेट मैदान हो,’उनले भने,‘प्रदेश सरकारबाट नै बजेटको अपेक्षा गरेका छौ, लगानी सुनिश्चित गर्न पहल पनि भइरहेकै छ ।’

अध्यक्ष राईका अनुसार ५० लाख बाहेक चालु आर्थिक बर्षमा वाउन्ड्री बढाउनको लागि थप बजेट निकासाको पहल पनि भइरहेको छ । हालको खेल मैदानलाई क्रिकेटको अन्र्तराष्ट्रियस्तरको मापदण्डमा बनाउन वाउण्ड्री विस्तार गर्नुपर्नेछ । ‘यही आर्थिक बर्षमा वाउण्ड्री बढाउन थप ३० लाखको प्रस्ताव गरेका छौ, त्यसो भयो भने क्रिकेट खेल्न लायक मैदान चै चाडै तयार हुन्छ,’राईले भने ।