धरान: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीबीच एकीकरण हुने निश्चित भएको छ ।

फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले आज शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेका हुन् । दुवै नेताले व्यापक छलफल र विचार विमर्शपछि दुवै पार्टी एकीकरण गर्ने सहमति भएको बताएका छन् । एकीकरण पश्चात नयाँ पार्टीको नाम 'समाजवादी पार्टी, नेपाल' निर्माण गर्ने सहमति भएको पनि विज्ञप्तीमा खुलाइएको छ । विज्ञप्तीमा 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भुमिका निर्वाह गर्ने' उल्लेख छ ।

Yetikaran

दुवै पार्टीबीच यही वैशाख २३ गते काठमाडौं प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा गर्ने पनि विज्ञप्तीमा खुलाइएको छ । नयाँ पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई रहने छन् भने केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको बताइएको छ । वरियतामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो रहनेछन् । त्यसपछि, यादव दोस्रो वरियतामा रहने छन् ।

एकता घोषणासँगै यही फोरमले वैशाख २८ गते घोषणा गरेको केन्द्रीय महाधिवेशन पनि स्थगित गरेको छ । हाललाई फोरम र नयाँशक्ति पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सबै यथावतै राखेर पार्टी एकीकरण हुने फोरमका एक नेताले जानकारी दिए । पार्टीको नयाँ विधान तयार हुने र चुनाव चिह्न ‘तारा’ राखिने पनि ती नेताले बताए । दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी प्रति असन्तुष्टी जनाउदै भटराईले करिब ४ बर्षअघि नयाँ शक्ति पार्टी खोलेका थिए । भटराई वर्तमान सरकारका कट्टर आलोचक हुन् भने समाजवादी फोरम यादवको नेतृत्वमा वर्तमान सरकारमा सामेल छ ।