धरान:स्वस्छ धरान, स्वस्थ्य धरानको नारा दिएर हरेक शनिबार बिहान आयोजना हुने धरान रनले आज आठौं बार्षिकोत्सव मनाएको छ ।

धरान ८ स्थित यलम्बर पार्कमा आज बिहान नियमित धरान रन कार्यक्रमसँगै २५ पाउण्डको केक काटेर बार्षिकोत्सव मनाएको हो । धरान रन २०६८ सालमा दर्ता भएको थियो । यसले हरेक शनिबार बिहान यलम्बर पार्कबाट ३.५ किलोमिटर दुरीको दौड कार्यक्रम आयोजना गर्दै आएको छ । आज बिहान ४१७ हप्ता दौड भएको थियो । सामुन्द्रिक आँधी फानीको प्रभावले बिहान बर्षा भएपनि करिब साढे ३ सयको संख्यामा दौडमा सहभागी भएको अध्यक्ष रोमु राईले जानकारी दिए । ‘पानी परेपनि दौडमा सहभागी हुनेहरुको संख्यामा कमी भएन, जस्तै घाम पानी र चाडपर्वमा पनि दौड हुन्छ,’अध्यक्ष राईले भने ।

dharan-run1

रक्तदान कार्यक्रम सम्पन्न

आठौं बार्षिकोत्सव अवसरमा धरान रनले भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । हालै इलाका प्रहरी कार्यालय धरानमा सरुवा भई आएका डिएसपी ढुण्डीराज न्यौपाने प्रमुख अतिथि रहेको रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको धरान रनले जनाएको छ ।

एजुकेशन फण्डबाट छात्रवृत्ति प्रदान

dharan-run4

आठौं बार्षिकोत्सव अवसर पारेर आज धरान रनले नेवा एजुकेशन फण्डबाट विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरेको छ । धरान १० के रनको पाँचौ सँस्करणबाट एजुकेशन फण्ड स्थापना गरिएको थियो । बर्षेनी आयोजना हुने दौड प्रतियोगिताबाट बचेको रकम फण्डमा जम्मा गरिदै आएको छ । गत फागुनमा सम्पन्न भएको सातौं नेवा च्यारिटी धरान १० के रनबाट बचेको रकमध्ये ४ लाख रुपैया एजुकेशन फण्डमा थप गरिएको अध्यक्ष राईले जानकारी दिए ।

सातौं सँस्करणमा कुल ७ लाख ७७ हजार ६२ रुपैया जोगिएको संस्थाले जनाएको छ । त्यसमध्ये ४ लाख एजुकेशन फण्डमा थप गरिएको छ भने १५ हजार रुपैया मृगौला रोग पीडित पत्रकार प्रविण राईलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । बाँकी ३ लाख ६२ हजार ६२ रुपैया धरान रनको खातामा रहने पनि संस्थाले जनाएको छ । ‘उक्त रकमबाट साप्ताहिक धरान रन, आगमी बार्षिक रुपमा हुने नेवा १० के.रन, रक्तदान कार्यक्रममा खर्च गरिनेछ,’अध्यक्ष राईले भने । यसपाली ४ लाख रुपैया थप गरेपछि एजुकेशन फण्डमा कुल १० लाख भएको पनि उनले बताए ।

अध्यक्ष राईका अनुसार आज विभिन्न १५ सामुदायिक स्कुलका २५ जना विद्यार्थीहरुलाई ७० हजार बराबरको आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो । यो एजुकेशन फण्डको ब्याजबाट आएको रकमले दिइएको हो । विपन्न परिवारका र जेहेन्दार विद्यार्थीहरुलाई स्कुल ड्रेस, कपी,कलम,जुत्ता,ब्यागलागयत आवश्यक शैक्षिक सामग्री दिइएको थियो । संस्थाले उनीहरुको पढाई खर्च, बार्षिक शुल्कमा लाग्ने खर्चलगायत पनि छात्रवृत्तिअन्र्तगत व्यहोर्दै आएको छ ।

dharan-run2