काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द समूहको अस्तित्व नै सकिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप पनि नियन्त्रण गर्न थालेको बताए ।

हतियार बुझाएर हिंसा नत्यागे समूह नै समाप्त हुने अवस्थामा पुग्ने चेतावनी उनले दिए । उनले भने, ‘पृथकतावाद अन्त्य गर्यौं र विप्लव समूहको नाममा मच्चाइएको त्रासलाई पनि नियन्त्रण गर्छौ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।

उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको उनको भनाइ थियो । सरकारले बम पड्काउन, मान्छे मार्न, मान्छेलाई तर्साएर जतिपनि पैसा असुल्न अनुमति दिन नसक्ने उनले प्रष्ट गरेका हुन् ।

उनीहरुका क्रियाकलाप अबैध, हानिकारक, असंबैधानिक र गैरकानुनी भएकाले आतंककारी गतिविधिमा प्रतिबन्ध लगाईएको प्रधानमन्त्री ओलीको जिकीर थियो ।