धरान: प्रदेश १ को राजधानी घोषणा गर्ने भनिएको वृहत विराट क्षेत्रअन्र्तगत धरानमा राजधानीको कुनै पनि संरचना नआउने सम्भावना बढेपछि धरानबासीहरु आन्दोलित भएका छन् ।

प्रदेश सभामा दुई तिहाई बहुमत भएको नेकपाले दुई दिनसम्म निरन्तरको बैठकले प्रदेश राजधानी र नामबारे सहमति जुटाउदा धरानमा भने राजधानीको संरचना नपर्ने भएपछि यहाँका नागरिक समाज र राजनीतिक दलहरु आन्दोलित भएका हुन् । धरान उपमहानगरपालिकाको आह्वानमा शनिबार साँझ धरानका नागरिक समाज र राजनीतिक दलहरुको संयुक्त सर्वपक्षीय बैठकले धरानमा राजधानी माग गर्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो । प्रदेशसभामा भोली आइतबार प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ता गर्ने समय सिमा छ । नेकपाले जारी सदनबाट राजधानीबारे मात्र प्रस्ताव दर्ता गर्ने भएको छ ।

राजधानी तोकिदा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना छैन । ‘राजधानीको लागि आवश्यक पुर्वाधारहरु धरानमा छ, हामीले विवरण पनि प्रदेश सरकारलाई दिएका छौ, तर पनि धरानमा राजधानी नआउने भएपछि आन्दोलन गर्ने निर्णय गरेका छौं,’धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्,‘सरकारलाई हामी चाहिने जग्गाको धनीपुर्जा नै दिन पनि तयार छौ ।’

सर्वपक्षीय बैठकले आइतबारदेखि कुटनैतिक पहलसँगै सशक्त आन्दोलन गर्ने जनाएको छ । धरानको टोलीले आइतबार सभामुख, मुख्यमन्त्री, नेकपाको संसदीय दलका नेता, नेकपाको प्रदेश इञ्चार्ज र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेतालाई भेटेर धरानमा राजधानी घोषणाको माग गर्दे ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ । विराटनगरबाट फर्केपछि धरानमा कोणसभा पनि गर्ने कार्यक्रम छ ।