बैंकक : थाइल्यान्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन् ।

बैंककस्थित ग्रान्ड प्यालेसमा जलसेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् ।
थाइल्यान्डमा राज्याभिषेकलाई राज्य सन्चालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाकारुपमा लिइन्छ ।

पवित्र जल राजाको शीरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा रहेको छ । स्थानीय समयानुसार शनिबार बिहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । दिउँसो १ बजेसम्म समारोह चलेको थियो ।
राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वजिरालंगकर्ण रानी सुथिडासहित उपस्थित भएका थिए ।
थाइ नरेश वजिरालंगकर्णले केही दिनअगाडिमात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन् । ६६ वर्षीय नरेशले ४० वर्षीया महिलासँग तेस्रो बिहे गरेर उनको नाम रानी सुथिडा राखिएको छ ।

thaikingg-0452019035248-1000x0

अहिले बिहे गरेकी महिला राजा वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गरेकी थिइन् । सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गरेकी छन् । शाही सुरक्षामा जोडिनुअघि उनी थाइ एअरलाइन्समा परिचारिका थिइन् ।

राजा वजिरालंगकर्णको यसअघि तीनजनासँग विवाह भएपनि तीनैजनासँग सम्बन्धबिच्छेद भइसकेको छ ।

थाइ नरेशले तेस्री श्रीमतीसँग पाँच वर्षअघि १३ वर्ष लामो वैवाहिक सम्बन्धलाई बिच्छेद गरेका थिए । पहिलेका तीन विवाहबाट थाइ नरेशका सात सन्तान छन् । थाइल्यान्डमा लामो समय राज्य गरेका भूमिवोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनका छोरा वजिरालंगकर्ण राजा बनेका हुन् ।

थाइल्यान्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ । थाइल्यान्डमा राजपरिवारको आलोचना गर्न मनाही गरिएको कडा कानुनी व्यवस्था छ ।