धरान: आजदेखि धरानमा शुरु हुने भनिएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीयसभाको ४८ औं महाधिवेशन अन्ततः स्थगित भएको छ ।

अन्तिम समयमा मात्र जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले आइतबार महाधिवेशन तथा निर्वाचन कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि महाधिवेशन स्थगित भएको हो । महाधिवेशन हुन नदिन प्रशासनले रेडक्रसको महाधिवेशनस्थलमा प्रहरीसमेत पठाएको थियो । प्रशासनको पत्र आएलगत्तै रेडक्रसको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियोे । रेडक्रसले हिजो दिउँसो पत्रकार सम्मेलन गरेर आजदेखि हुने महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।

रेडक्रसका केन्द्रीय सभापति सञ्जिव थापाले अधिवेशन हुन नदिने गरी पत्र आएकोले स्थगित गरिएको बताए । 'रोक्न आदेश आयो, सम्पुर्ण तयारी भइसकेको बेला आएको आदेशप्रति दुःख व्यक्त गछौं,'उनले भने,'हाललाई महाधिवेशन स्थगित गरेका छौं ।' रेडक्रसलाई विघटन गरेर आफ्नो ढंगले लैजाने षडयन्त्र भएको पनि उनले बताए । 'रेडक्रसकै पुर्वकर्मचारीहरुले उजुरी हालेर दुःख दिएका हुन्,'उनले भने ।

बैठकमा सहभागी एक रेडक्रसकर्मीका अनुसार केन्द्रीय समितिको पदावधि एक बर्ष थप गर्ने निर्णय गरिएको छ । वर्तमान केन्द्रीय समितिको अवधि यही बैशाख अन्तिमसम्म मात्र थियो । ‘पदावधि एक बर्ष थप्ने र कानुनी उपचारमा जाने निर्णय भएको छ,’उनले भने,‘प्रशासन एकदमै पुर्वाग्रही भयो । यो महाधिवेशनलाई छानबिनले कसरी प्रभाव पार्छ ? कोही दोषी देखिए कारबाही गर्न कसरी छेक्छ ?’

धरान १३ स्थित धरान ब्यांकेटमा हुने महाधिवेशनको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको थियो । रेडक्रसको महाधिवेशन धरानमा २३ गतेदेखि २५ गतेसम्म हुने तयारीमा थियो । महाधिवेशनमा सहभागी हुन ७७ जिल्ला र विदेशी दातृनिकायहरुबाटसमेत प्रतिनिधि र पर्यकवेक्षकहरु धरानमा आइसकेका थिए ।

के हो विवाद ?

redcrossss

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय गोदाम घर निर्माणका लागि जग्गा खरीद, केन्द्रीय रक्त सञ्चार केन्द्रको नयाँ भवन निर्माण र विभिन्न जिल्लामा खानेपानी लगायतका आयोजना र कार्यक्रमहरूमा व्यापक भ्रष्टाचार तथा अनियमितता भएको आरोप छ । ति बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र काठमाण्डौं जिल्ला प्रशासनमा समेतमा उजुरी परेको छ । ती उजुरीहरुमा छानबिन तथा अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रशासनले साधारणसभा तथा निर्वाचन रोक्न रेडक्रसलाई पत्राचार गरेको हो ।

पत्रमा ‘वर्तमान केन्द्रीय कार्य समितिकै कतिपय पदाधिकारीहरू विरुद्ध उजुरी परी छानबिन तथा अनुसन्धान भइरहेकोले आसन्न साधारण सभा तथा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा हुन नसक्ने दाबी गर्दै रोकी पाउँ भनी विभिन्न निकायमा परेको उजुरी समेत परेकोले धरानमा हुने भनिएको साधारण सभा तथा निर्वाचनको कार्यक्रम अर्को आदेश नभएसम्मको लागि स्थगित गर्न’ प्रशासनले पत्र पठाएको थियो ।