काठमाडौं: संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच औपचारिकरुपमा पार्टी एकता भएको छ ।

काठमाण्डौंस्थित प्रज्ञा प्रतिष्ठानमा दुवै पार्टीबीच एकता घोषणा गरिएको हो । उपेन्द्र यादव नेतृत्वको फोरम र डा.बाबुराम भटराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल भएको छ । घोषणा सभामा नयाँ शक्तिका संयोजक डा भट्टराई र फोरमका अध्यक्ष यादवले नौ बुँदे सहमतिमा हस्तक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १० प्लस १ प्रदेश बनाउनुपर्ने बताएको छ । समाजवादी पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने भएको छ । २ दलबीच भएको सहमतिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमार्फत राजनीतिक स्थायित्व र विकास खोज्ने सहमति भएको छ ।

पार्टीको संघीय परिषदको नेतृत्व भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने सहमति छ । प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् भने नयाँ शक्तिका एक सांसद छन् । पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । यस्तै उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् । महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् भने कोषाध्यक्षमा विजयकुमार यादवले जिम्मेवारी पाएका छन् । पार्टीका अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी(राजपा) नेपाललाई एकतामा आउन आग्रह गरे । पार्टी घोषणासभामा उनले सानो सानो पसल थाप्ने समय नभएको भन्दै एकतामा आउन आह्वान गरे । ‘राजपा लगायतका पार्टीलाई आह्वान गछौ, आउनुस् परिवर्तनको दिशामा अघि बढौं,’अध्यक्ष यादवले भने ।

samajbadi party sahamati

samajbadi sahamati_2