विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सोमबार उनलाई प्रदेशभरिको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी चौकी कर्सिया मोरङ दरबन्दी भएका बस्नेत जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन् । उनले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७५ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको छ ।

फोटो सहितको कार्य विवरण चैत्रbbb-001

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मुल्य(मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भई बस्नेतले काम गरेको प्रदेश प्रहरीले जनाएको छ । साथै, उनले ध्वंसात्मक, हिंसात्मक, मानव बेचविखन, जवरजस्ती करणी, चोरी जस्ता अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भएकोले पनि बस्नेतलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कार्यालयले जनाएको छ ।