धरान: प्रदेश १ को राजधानी धरान घोषणा गर्न प्रस्ताव संसदमा दर्ता समेत हुन नसक्नुको कारण नेकपाका नेता भीम आचार्य र हाल सभामुख प्रदीपकुमार भण्डारीले धराने जनतालाई दिनुपर्ने नेपाली कांग्रेसका सभापति तिलक राईले बताएका छन् ।

प्रदेश राजधानीको बिषयमा सोमबार धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा कांग्रेसले आयोजना गरेको कोणसभामा बोल्दै सभापति राईले निर्णायक तहमा नेकपाका नेता र सांसदहरु भएर पनि धरानलाई राजधानी बनाउन नसकेको र अहिले आन्दोलनको नाममा जनतालाई भ्रम छर्ने काम गरिरहेको आरोप लगाए । धरान क्षेत्र(ख)बाटसमेत निवार्चित भीम आचार्य नेकपाको स्थायी कमिटि सदस्य र प्रदेश १ इञ्चार्ज जस्तो निर्णायक र शक्तिशाली पदमा भएको र धरान क्षेत्र(क)बाटै चुनाव जितेका प्रदीपकुमार भण्डारी सभामुख भएपनि धरान राजधानी बनाउने प्रस्ताव दर्ता नहुनु ज्यादै दुःख भएको राईले बताए । ‘धरान क्षेत्रबाट नै प्रदीप भण्डारी निवार्चित मात्र हुनुभएन, सभामुख नै हुनुभयो । ख क्षेत्रबाट चुनाव जितेका भीम आचार्य सांसद मात्र होइनन्, नेकपाका शक्तिशाली नेता छन् । स्थायी कमिटि सदस्य र प्रदेशको इञ्चार्ज जस्तो पार्टीको निर्णायक ठाउँमा छन् । उहाँलाई धराने जनताले जिताएको हो,’कांग्रेस सभापति राईले भने,‘तर, धरानलाई राजधानी बनाउने सवालमा उहाँहरुले के गर्नुभयो ? अब भीम आचार्य र प्रदीप भण्डारीले भानुचोकमा आएर जवाफ दिनुपर्छ, धरान किन राजधानी भएन ?’

congress

नेकपाले विराटनगरलाई राजधानी र इटहरी, सुन्दर हरैचामा व्यवस्थापिका, कार्यपालिकाको संरचना ल्याउने निर्णय गर्दा केही नबोल्ने सांसद र नेकपा धरानका नेताहरु अहिले धरानको प्रस्ताव दर्ता भएन भनेर आन्दोलन गर्नु नाटक मात्र भएको सभापति राईले बताए । ‘नेकपाले राजधानी विराटनगर बनाउने र वृहत विराट क्षेत्रको इटहरीमा व्यवस्थापिका संसद राख्ने निर्णय गरिसकेको थियो, अहिले नेकपा र त्यही पार्टीबाट जितेको धरान उपमहानगर नेतृत्वले जनताको आँखामा छारो हाल्ने काम किन गरिरहेको छ ?’सभापति राईले भने,‘आफ्नो पार्टीले विराटनगर राजधानी बनाउने निर्णय गरिसकेपछि ज्ञापन पत्र बुझाउन किन गएको ? नेतृत्वको निर्णयविरुद्ध उभिने नसक्नेहरुले आन्दोलनको नाटक गरेर अब भ्रम नर्छनुस्, जनताको आँखामा छुलो नर्छनुस् ।’

प्रदेश संसदमा कांग्रेसको संख्या एकदमै थोरै भएकोले ठुलो प्रभाव नहुने भन्दै सभापति राईले नेकपाको दुईतिहाई संसद संख्या भएकोले जे चाह्यो त्यही हुने अवस्था भएको बताए । धरान क्षेत्रमा २०४८ सालदेखि नै नेकपाले निरन्तर जितिरहेपनि धरानले केही पाउन नसकेको पनि उनले आरोप लगाए । ‘०४८ सालदेखि ०७४ सम्म नेकपाले जितिरेको छ, तर धरानको सारा कार्यालय सर्यो, चुनाव जितेर नेकपाका नेताहरुले के गर्नुभयो ?’उनले प्रश्न गरे ।

congress-tilak

सर्वदलीय बैठक र ज्ञापन पत्रको नाममा जनतालाई झुक्याउने काम मात्र भएको हुनाले आफुहरु बैठकमा पनि नगएको र विराटनगर ज्ञापन पत्र बुझाउन पनि नगएको कांग्रेस सभापति राईले प्रष्ट पारेका छन् । शनिबार साँझ धरान उपमहानगरपालिकामा भएको सर्वदलीय बैठकमा कांग्रेस प्रतिनिधि थिएन भने विराटनगर गएको टोलीमा पनि थिएन । ‘धरानको वडादेखि मेयर, उपमेयर र संघीय संसद, प्रदेश संसद सबैमा नेकपाले जितेको छ, तर धरानको लागि के गर्यो ? धरानलाई राजधानी बनाउन के पहल भयो ? त्यसैले त्यो सर्वदलीय बैठकमा नेकपाको नेता भीम आचार्य, प्रदीप भण्डारी आउछन् भने मात्र कांग्रेस बस्छ भनेर कार्यवाहक मेयरलाई भन्यौ । नत्र राजधानीको नाममा जनताको आँखामा छारो हाल्ने काम नगर्नुस् भन्यौ,’उनले भने,‘जुन पार्टीको संसदमा दुईतिहाई बहुमत छ, र राजधानी विराटनगरमा राख्ने निर्णय गरिसकेको छ, त्यही पार्टीको नेताहरु फेरी धरान राजधानी माग्दै गएर जनतालाई किन भ्रमित बनाउनु ?’