धरान: नेपाली कांग्रेस र धनकुटाका सांसदहरुले राजधानीबारे हिजो(आइतबार) संसदमा दर्ता गराएको प्रस्ताव फिर्ता भएको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले रोष्टममा बोलेर राजधानीबारे दर्ता गराएको प्रस्ताव फिर्ता लिए भने धनकुटालाई राजधानी बनाउन माग गर्दै नेकपा र कांग्रेसका सांसदहरुले दर्ता गराएको छुट्टा छुट्टै प्रस्ताव पनि आज फिर्ता लिए । धनकुटा राजधानी बनाउने प्रस्ताव भने लिखितरुपमा फिर्ता लिएका थिए । विराटनगरलाई राजधानी बनाउने सहमति भएपछि कांग्रेसले आफ्नो प्रस्ताव फिर्ता लिएको थियो । धनकुटालाई राजधानी बनाउन प्रस्ताव दर्ता गर्ने नेकपा र कांग्रेसका सांसदहरु पनि पार्टी निर्णय विपरीत जान नसक्ने भएपछि हिजोको प्रस्ताव फिर्ता लिए भने उनीहरुले पनि नेकपाकै प्रस्तावमा विराटनगर राजधानीमा मतदान गरेका छन् ।

हिजो संसदमा दर्ता भएको मध्ये ३ वटा प्रस्ताव फिर्ता भएपछि संसदमा नेकपाले दर्ता भएको प्रस्तावबारे मात्र मतदान भएको थियो । हस्ताक्षर गरेर भएको मतदानमा ८६ मत खस्यो भने विपक्षमा कुनै पनि मत खसेन । मतदानमा ८६ जना सहभागी थिए । कुल ९३ सांसदमध्ये सभामुखले मतदानमा भाग लिन पाउदैनन् भने अन्य सांसदहरु अनुपस्थित थिए । उपस्थित भएका सबैले पक्षमा मतदान गरेका थिए । यसरी नेकपाले राजधानीबारे दर्ता गराएको प्रस्ताव आवश्यक दुई तिहाई बहुमत भन्दा बढीले पारित भयो । नेकपाले प्रदेश नं १ को राजधानी विराटनगर रहने प्रस्ताव दर्ता गराएको थियो भने कार्यपालिका, व्यवस्थापिका तथा अन्य संरचनाहरु वृहत विराटक्षेत्रअन्र्तगत विराटनगर, इटहरी, सुन्दर हरैचा आसपास क्षेत्रमा रहने प्रस्ताव दर्ता गराएको थियो ।