धरान:धरान बास्केटवल संघको आयोजनामा प्रथम महिला बास्केटवल च्याम्पियनसिप शुरु भएको छ । धरान १८ स्थित डिपो आर्दश बहुमुखी क्याम्पसको बास्केटवल कोर्टमा भएको प्रतियोगितामा पहिलो दिनमै इमोर्टल्स क्लब, डिपो कलेज, होराइजन क्लब र स्ट्याग क्लब सेमीफाइनल पुगेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा इमोल्र्टस क्लव धरान १५ ले यलम्वर क्लव धरान ८ लाई ५१–१७ को विशाल स्कोरले हराएको थियो । इमोर्टल्सले राष्ट्रिय खेलाडी अनुशा मल्ल र श्वेता खरेललाई पनि आफ्नो टिममा समावेश गरेको छ । खेलमा इमोर्टल्सबाट खेलिरहेकी राष्ट्रिय खेलाडी अनुशाले व्यक्तिगत २६ अंक जोडेकी थिइन् । दोस्रो खेलमा डिपो कलेजले विष्णु मेमोरियल स्कुललाई ३५–६ को स्कोरले हरायो । डिपोका टिम क्याप्टेन डा. आशा राई र तनु राईले टिमको जितमा समान १२ स्कोर गरे ।

यस्तै, तेस्रो खेलमा होराइजन क्लवले लोटस स्कुललाई १२–६ स्कोरले हरायो । निर्धारित समयको खेलमा दुवै टिमले ६–६ अंक जोडेपछि थप समयमा होराइजन विजयी भएको हो । यस्तै, चौथो खेलमा स्ट्याग क्लबले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारलाई २७–१४ स्कोरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो । खेलमा स्ट्यागकी अनु थापाले व्यक्तिगत १३ स्कोर गरिन् ।

IMG_4088 1

महिला बास्केटवल खेलाडी उत्पादन तथा खेलको विकासको लागि धरान वास्केटवल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सुनसरी बास्केटवल संघको सहयोग रहेको छ । प्रतियोगितामा धरानका स्कुल र क्लब गरी ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले नगद १० हजार र उपविजेता टिमले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद २ हजारसहित ट्रफी पाउने आयोजक संघले जनाएको छ ।