उद्घोष : आजको उद्घोष दैनिकमा “भोजपुरमा सुत्केरी महिलालाई हेलिकप्टरद्वारा उद्धार” शीर्षकको समाचार छापिएको छ । शिशुलाई जन्म दिएपनि लामो समयसम्म रक्तश्राव नरोहिएपछि भोजपुरकी एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी विराटनगर पठाइएको छ । जीवनमरणको दोसाँधमा रहेकी रामप्रसादराई गाउँपालिका ३ भुल्के घर भई हाल भोजपुर नगरपालिकाको भोटेपसल बस्दै आएकी ३० वर्षीय कल्पना राईको ज्यान जोहिम बढेपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रमअन्तर्गत राईको उद्धार गरिएको हो । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट विराटनगर स्थित नोबेल अस्पतालमा उपचारार्थ लगिएको छ । श्रीमती बाँच्ने आशा पलाएको र सरकार आफ्नो लागि भगवान नै भएको कल्पनाका श्रीमानले जनाएका छन् ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “नासु अधिकारी विरुद्ध ५ करोडको भ्रष्टचार मुद्दा” शीर्षकको अर्को समाचार पनि छापिएको छ । गैरकानुनी सम्पति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल सुरेश अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अधिकारीमाथि ५ करोड १० लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको छ । अख्तियारले सुरेशका चारवटी श्रीमती दुर्गा अधिकारी, दिपा श्रेष्ठ(अधिकारी), अस्मिता अधिकारी र सोममायाँ श्रष्ठलाई पनि विपक्षी बनाएको छ । सम्पति लुकाएको अभियोगमा सासू पुष्पकुमारी निरौला र मामा बलराम शर्मालाई समेत विपक्षी बनाइएको छ । २०५९ असोज १६ गतेदेखि गाविस सचिवबाट निजामति सेवामा प्रवेश गरेका अधिकारीले बीचमा नेपाल टेलिकममा समेत जागिर खाएका थिए । २०६५ सालमा उनी फेरि निजामति सेवामा प्रवेश गरेका हुन् । २०६७ चैत २० देखि २०७४ वैशाख ६ गतेसम्म यातायात कार्यालय इटहरीमा कार्यरत रहँदा उनले ८८ लाख रुपैयाँ वैध आर्जन गरेको र अरु आर्जनको स्रोत नभेटिएको अख्तियारको दावि छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “महिला वडाध्यक्ष अब्बल” शीर्षकको समाचार छापिएको छ । झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनिय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उनीहरुको गुनासो छ । पन्ध्र स्थानीय तह भएका झापामा १ सय ३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन जना मात्र महिला छन् । भद्रपुरको वडा नं. ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं. ९ मा पत्रिा पाठक र हल्दिबारीको वडा नं. ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष छन् । महिला अध्यक्ष भएको वडा तहमा सुशासन र विकास निर्मानले गति लिएको उनीहरुको दावी छ । वडाध्यक्ष पाठकले आफ्नो वडामा कुनै पनि उपभोक्ता समिति गर्नुपर्दा महिलालाई अनिवार्य कोषाध्यक्ष पद दिनुपर्ने र बैंकिङ कारोबारमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने नियम लागू गरेको बताइन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “फरार अभियुक्त ७ वर्षपछि पक्राउ” शीर्षकको समाचार छापिएको छ । अवैध गर्भपतन मुद्दाका फरार असभयुक्त ७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २०६९ साल जेठ २५ गते भोजपुर जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फेसला सुनाइएको थियो । आमचोक गाउँपालिका ३ थिदिंखा घर भई हाल सुनसरी जिल्ला रामधुनी नगरपालिका ६ मा बस्दै आएका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राईलाई अदालतको आदेशबमोजिमको कैद भुक्तान हुने गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।