धनकुटा: प्रदेश सभाले विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी घोषणा गरेपछि अन्याय भएको भन्दै धनकुटाबासीहरु आन्दोलित भएका छन् ।

धनकुटा प्रादेशिक राजधानी निर्माण अभियान समितिको आह्वानमा धनकुटेलीहरु आन्दोलित भएका हुन् । उनीहरुले धनकुटालाई अन्याय भएको भन्दै विराध स्वरुप आज एक घण्टा चक्का जाम गरेका थिए । समितिको आह्वानमा मध्याह्न १२ बजेदेखि एक घण्टा चक्का जाम गरेका थिए । अहिले भने सवारी आवागमन सुचारु भइसकेको छ ।

समितिले भोली बुधबार पनि एक घण्टा चक्काजामको कार्यक्रम घोषणा गरेको छ । हरेक किसिमले प्रादेशिक राजधानी बनाउन धनकुटा उपयुक्त भएपनि विराटनगर घोषणा गरेर अन्याय भएकोले आन्दोलित हुनुपरेको समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । ‘धनकुटाको पहिचान, अस्तित्व सबै हराउने गरी धनकुटाबासीहरुको आवाजलाई वेवास्ता गरियो, हामीमाथि अन्याय भएकोले आन्दोलनमा उत्रनु पर्यो,’उनले भने । समितिले आजै राती एक घण्टा ब्ल्याक आउटको पनि घोषणा गरेको छ । राती ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गरिने भएको छ ।