धरान:‘अब धरान जाग्नु पर्छ ! खानेपानी माग्नु पर्छ !’ धरान उपमहानगरपालिकाको मुख्यगेटमा यी आवाज गुञ्जियो ।

मंगलबार मध्याह्न उखरमाउलो गर्मी । एक हुल मानिस उपमहानगर मुख्य गेट अगाडि भेला भएर नाराबाजी शुरु गरे । हातमा प्ले कार्ड र व्यानर बोकेर ‘पानी देउ दबाब समूह’ले उपमहानगरबिरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले चर्को स्वरमा चिच्याउदै भने, ‘अब धरान जाग्नु पर्छ ! खानेपानी माग्नु पर्छ !’ रित्तो गिलेन र प्लाष्टिकका वोतल पनि उनीहरुले प्रर्दशनमा राखे । जनताको घरमा खानेपानीको अभाव भएको जनाउन सांकेतिकरुपमा उनीहरुले त्यसरी प्रर्दशन गरेका थिए । उपमहानगरको गेटमा नेपाल प्रहरी र नगर प्रहरी सुरक्षाको लागि तैनाथ थिए ।

धरानमा खानेपानी प्रमुख समस्या छ । एसियाली विकास बैंक(एडिबि)को सवा २ अर्ब ऋण तथा अनुदानमा खानेपानी परियोजना सञ्चालनमा रहे पनि धराने जनता खानेपानी अभावबाट अझै पीडित छन् । तिनै पीडित जनताहरु करिब २ घण्टा पानीको माग गर्दै नाराबाजीमा उत्रिए । धरानका १३, १८, १७, १९ नम्बर वडाका बासिन्दाहरु विरोधमा उत्रिएका थिए । जनसरोकार मञ्चको पनि सहभागीता थियो ।

pani-deu-samuha

'पानी देउ दबाब समूह'का अध्यक्ष हर्क साम्पाङ राईले एडिबीको ऋण सहयोगमा सञ्चालित खानेपानी परियोजनाले समयसिमा सकिदा पनि पानी खुवाउन नसक्नु कमजोरी रहेको टिप्पणी गरे । खानेपानी जस्तो अतिसंवेदनशिल बिषयमा उपमहानगर र आयोजनाबाट लापरबाही भइरहेको उनको आरोप थियो । ‘मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेपानीमा जस्तो कुरामा उपमहानगरले गम्भिर लापरबाही गरिरहेको छ’ दबाब समूहका अध्यक्ष राईले भने ‘जनतालाई खानेपानी खुवाउने कुुरामा राजनीतिकरण हुन भएन । धरान उपमहानगरपालिका गम्भिर बन्नु पर्यो, अरुलाई दोष थोपरेर हुदैन ।’

उनले घरमा प्रत्येक ३–३ दिनमा धारामा पानी आएपनि प्रयाप्त पानी नआदा बाध्य भएर ट्याङकरको पानी खरीद गर्नुपरेको सुनाए । ‘घरमा तीन–तीन दिनमा पानी आउछ, त्यो पनि एकै छिनमा मारिहाल्छ’ उनले आक्रोश व्यक्त गदै भने,‘हामी बाध्य भएर ट्याङकरको पानी २ हजार रुपैयाँमा किनेर खानुपरेको छ, यसरी कैलेसम्म चल्छ ?’

माफिया र उपमहानगरले सर्दु जलाधार मासेको आरोप

जनसरोकार मञ्चका संयोजक कृष्णनारायण पलिखेले जनताको हित विपरीत उपमहानगर अगाडि बढिरहेको आरोप लगाए । उपमहानगर र भुमाफियाको मिलिभगतमा खानेपानीको मुहान सर्दुजलाधार क्षेत्र मास्ने प्रयास भइरहेको पनि उनले बताए । उनले जलाधारमा किनबेच र प्लटिङ भइरहेको भन्दै यसमा उपमहानगरले नै साथ दिएको उनको भनाई थियो । खानेपानी खुवाउने नाटकमा अरबौंको ऋण लिएको र प्राकृकित खानेपानीको स्रोत जलाधार नष्ट गर्नतिर माफियाहरुसँग उपमहानगर र नेताहरु नै मिलेमतोमा रहेको पलिखेको आरोप थियो ।

७ बुँदे मागपत्र पेश

IMG_4157

पानी देउ दबाब समुह धरानले उपमहानगरपालिकामा ७ बुँदे माग पत्र पेश गरेको छ । समुहका अध्यक्ष हर्क साम्पाङ राईले कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीलाई मागपत्र पेश गरेका थिए । मागपत्रमा पुराना धारा हुनेहरुलाई पर्याप्त, नियमित, सन्तुलित र व्यवस्थित तरिकाले पानी वितरण गर्न माग गरिएको छ । यस्तै, जलाधार क्षेत्रको मुहानमा वनभोज खाने, नुहाईधुवाई गर्नेलगायत गतिविधि रोकेर सुरक्षित गर्नुपर्ने पनि माग गरिएको छ । भौतिक संरचनाहरु बनाउन पनि रोक लगाउन माग छ ।

यस्तै, दुषित र धमिलो पानीले स्वास्थ्यमा असर परेको भन्दै आधुनिक फिल्टर प्रणाली प्रयोगमा ल्याउन र गुणस्तरीय पानी वितरण गर्न पनि माग गरिएको छ भने बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै दीर्घकालिन पानीको स्रोत खोजी गर्नुपर्ने, नियमित अनुगमन र मर्मत सम्भार गर्नुपर्ने पनि माग गरेको छ ।

उपमहानगरपालिकाका प्रबक्ता मणीराम राईले खानेपानी परियोजना र धरान खानेपानी संस्थानसँगको सहकार्यमा धरानबासीलाई पानी खुवाउन तीब्रगतिमा काम अघि बढीरहेको बताए । प्राविधिक कारणले पानी खुवाउनमा केही ढिला भएको स्विकारगदै प्रबक्ता राईले अब यसमा उपमहानगर गम्भिर भएर लागिरहेको समेत दाबी गरे । ‘पानी खुवाउन उपमहानगर गम्भिर छैन भन्नु मिल्दैन, पानी खुवाउने विषयमा नगरपालिकाले नीतिगत निर्णय गरेअनुसार काम अगाडी बढेको छ,’प्रबक्ता राईले भने,‘प्राविधिक कारणले हामीले ठाउँ–ठाउँमा जनतालाई समयमा पानी खुवाउन सकेनौ, तर अब त्यसो हुदैन ।’