इटहरी : चालु आर्थिक बर्षको १० महिनामा प्रदेश नं १ मा एक हजार बढीले सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परेर सबैभन्दा बढी मोटरसाइकलमा सवार हुनेको ज्यान गएको छ ।

चालु आर्थिक बर्षको गत साउन यता वैशाख २३ गतेसम्मको दुर्घटना तथ्याङ्क हेर्दा १ हजार १४ वटा दुर्घटना प्रदेश नं १ मा भएको छ । सबैभन्दा बढी दुर्घटनामा ज्यान गुमाउने मोटरसाईलमा सवार रहेका छन् । इटहरीस्थित १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा दुर्घटनामा परी हालसम्म २ सय ९५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाईलमा सवार हुने रहेको छ । दुर्घटनमा परी घाईते हुनेको संख्या १ हजार ८ सय ६८ जना रहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए । उनका अनुसार घाइते संख्यामा पनि ७ सय ५० जना गम्भीर छन् ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार अधिकांश दुर्घटना चालकको लापरवाहीले हुने गरेको छ । ट्राफिक नियमप्रति सचेतनाको अभाव र वेवास्ता गरिनु दुर्घटनाको मुख्य कारण रहेको उनले बताए । ‘मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने, तीन जना सवार हुने, हेल्मेट विना चलाउने गर्दा दुर्घटना भएर मृत्यु हुन्छ,’ एसपी पौडेलले भने,‘अत्यधिक तीब्र गतिमा सवारी चलाउदा पनि ज्यादै दुर्घटना हुने गरेको छ ।’ दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम तथा घुम्ती शिविरहरु आयोजना गरिदै आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

accident1 1

ट्राफिक प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै मोटरसाईकल दुर्घटनामा परेको छ । त्यसपछि दुर्घटना अधिक हुनेमा कार, जीप, ट्याक्टर छन् भने बस, टिपर र सिटी सफारी पनि दुर्घटना भइरहने गरेको तथ्यांक छ । चालु आर्थिक बर्षको साउन यता मात्रै २४ वटा टिपर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ भने ४८ जना घाईते भएको देखिन्छ । चालक, सहचालकलाई जिम्मेवार बनाउन अनिवार्य पोशाक लगाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय टिपर धेरै दुर्घटना हुन थालेकोले न्यूनिकरण गर्न आफूहरु सचेत रहेको प्रहरी उपरीक्षक पौडेलको भनाई छ ।

पौडेलका अनुसार टिपरले जति धेरै पटक ओसार्न सक्यो, उति फाइदा हुने भएकोले तीब्र गतिमा चलाउने गरेको खुलेको छ । यसले गर्दा दुर्घटनाको बढी जोखिम हुने गरेको र अधिकांश दुर्घटना पनि हुने गरेको ट्राफिक प्रहरीको अनुसन्धानले देखाएको छ । यस्तै, सिटी सफारी आफै दुर्घटनामा नपरेपनि सफारीको कारण सडक दुर्घटनामा वृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ । सफारीले जथाभावी बाटो काट्ने र मनपरीढंगले चलाउने गरेकोले दुर्घटना बढाएको ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कमा उल्लेख छ ।