धनकुटा: आइतबार प्रदेशसभामा प्रदेश नं १ को स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता हुदै गर्दा निक्कै रस्साकस्सी चल्यो । धरानेहरु प्रदेशसभाअघि घेराउ र सिठी जुलुस निकाले भने कार्यवाहक प्रमुख, राजनीतिक दल र धरान क्षेत्रका सांसदहरुले सभामुख, मुख्यमन्त्री, प्रदेश प्रमुख, सरकारकय सबैजसो मन्त्रीहरु र विपक्षी दलका नेतालाई पनि भेटेर ज्ञापन पत्र बुझाए ।

धरान राजधानीको प्रस्ताव दर्ता नभएपनि कार्यपालिका र व्यवस्थापिकाको संरचना विकेन्द्रीत हुने गरी वृहत्त विराट क्षेत्रमा धरान पनि समेटिन्छ भन्ने आशा धरानेहरुलाई थियो । तर, नेकपाले विराटनगरलाई स्थायी राजधानीको प्रस्ताव दर्ता गर्यो भने इटहरी र सुन्दर हरैचामा कार्यपालिका, व्यवस्थापिकाको संरचना रहने प्रस्ताव गर्यो । संसदमा दुईतिहाई बहुमत भएकोले नेकपाको यो प्रस्ताव पारित हुने निश्चित थियो । यो प्रस्ताव भएसँगै धरानेहरु जिल्लिए । धरान राजधानीको प्रस्ताव दर्ता गर्न नसकेको भन्दै धरान क्षेत्रका सांसदहरुको सामाजिक सञ्जालमा तीब्र आलोचना भयो ।

धरान क्षेत्रका सांसदहरुको आलोचना हुनुको अर्को कारण थियो, धनकुटा क्षेत्रका नेकपा र कांग्रेसका सांसदहरुले पार्टी निर्णय विपरीत धनकुटालाई राजधानी बनाउन प्रस्ताव दर्ता गर्नु । पार्टीबाट कारबाही भोग्न पनि तयार भएर धनकुटालाई राजधानी बनाउन प्रस्ताव दर्ता गरेको भन्दै उनीहरुको वाहवाही भयो । सामाजिक सञ्जालमा धनकुटाका सांसदहरुले ताली पाए, प्रशंसा बटुले यता धराने सांसदहरुले गाली मात्र पाए ।

धनकुटाबाट निर्वाचन क्षेत्र 'क' बाट प्रत्यक्ष विजयी नेकपाका सांसद निरन राई प्रस्तावक र 'ख' बाट प्रत्यक्ष विजयी नेकपाका सांसद इन्द्रमणी पराजुली र नेकपाका सामानुपातिक सांसद कुसुमकुमारी श्रेष्ठ समर्थक रहेर धनकुटा राजधानी राख्न प्रस्ताव दर्ता गरेका थिए । यस्तै, नेपाली कांग्रेसकी सांसद लिला सुब्बा प्रस्तावक रहेर नेपाली कांग्रेसको ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङनाम र संघीय समाजवादी फोरम झापाका सांसद रामचन्द्र लिम्बूको समर्थनमा धनकुटा राजधानीको प्रस्ताव दर्ता गराएका थिए । तर, यो उनीहरुको राजनीतिक चाल र नाटक मात्र थियो भन्ने पर्दा च्यातिन चौबिस घण्टा पनि टिक्न सकेन ।

सोमबार उनीहरुले प्रस्ताव फिर्ता मात्र लिएनन्, धनकुटेली र विराटनगरबाहेकका जनताको विश्वासमाथि नै घात हुने गरी विराटनगरलाई स्थायी राजधानी बनाउने नेकपाको प्रस्तावको पक्षमा मतदानसमेत गरे ।
आफ्नै क्षेत्रका सांसदहरुबाटसमेत ठगिनु परेको भन्दै आज मंगलबारदेखि पुनः राजधानीको माग गर्दै धनकुटाबासीहरु आन्दोलित छन् । उनीहरु सरकारसँग मात्र रुष्ट छैनन्, आफ्नै क्षेत्रका सांसदहरुसँग पनि आक्रोशित छन् । आइतबार धनकुटाको प्रस्ताव दर्ता गराउदा खुशी भएका धनकुटेलीहरु आज तिनै सांसदहरुसँग प्रस्ताव फिर्ता गर्नुको जवाफ खोजिरहेका छन् ।

Dhankuta-Hed

‘सांसदहरुले प्रस्ताव दर्ता गर्दा हामी असाध्यै खुशी थियौ, उहाँहरुलाई बधाई दियौ, र धनकुटेलीहरुको मात्र होइन, यो प्रस्ताव प्रदेशको १४ जिल्लाकै जनताको हितमा छ भन्यौ,’प्रदेश नं १ को राजधानी धनकुटा बनाउ अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले भने,‘तर फेरि सोमबार उहाँहरुले प्रस्ताव फिर्ता लिनुभयो, त्यसले हामी सबैको विश्वासमाथि धोका भयो, उहाँहरुले विराटनगरलाई राजधानी बनाउन भोट किन हाल्नु भयो, हामीले जवाफ खोजिरहेका छौं ।’

संयोजक श्रेष्ठका अनुसार आइतबार प्रस्ताव दर्ता गर्नु नाटक गरेजस्तो मात्र देखिएको छ । सम्पुर्ण धनकुटेली जनता र यहाँका सबै पार्टीले पनि साथमा छौ, पार्टीबाट कारबाही हुदैन भन्नेर पुर्ण विश्वास दिलाएको श्रेष्ठले बताए । सांसदहरुले पनि पछि नहट्ने प्रतिवद्धता जनाएपनि अन्त्यमा पुरा नगरेको उनले बताए । ‘खुट्टा नकमाउनुस्, सम्पुर्ण जनता साथमा छौ, पार्टी कमिटिले पनि कारबाही हुदैन भनेर विश्वास दिलाएको थियो । सांसदहरुले पनि पछि नहट्ने भनेका थिए,’संयोजक श्रेष्ठले भने,‘प्रस्ताव दर्ता गरेपछि कि त निर्वाचन प्रक्रियमा लैजानुपथ्र्यो, उहाँहरुको यो साहसको भावी पिढीले सधै सम्झिने थियो । तर त्यसो गर्न सक्नु भएन । फिर्ता लिएपछि पनि मतदान बहिष्कार गर्दा हुन्थ्यो, उल्टै विराटनगरको पक्षमा मतदान गरेर धनकुटाबासीलाई धोका दिनुभयो ।’