काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दैछ ।

सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

तीन चरणमा हुने अभियानको प्रथम चरण आजदेखि सुरु भई आगामी जेठ २५ गते समापन हुनेछ ।
त्यस्तै दोस्रो चरण भदौ २४ गते प्रारम्भ भई असोज ७ गते समापन हुने छ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते समापन हुने छ । पहिलो चरण ७७ जिल्लामा, दोस्रो चरण ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७ सय ५३ स्थानीय तहमा हुने छ ।

अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य लिइएको छ ।