धरान: प्रथम महिला बास्केटवल च्याम्पियनसिप २०७६ को उपाधि धरान १५ स्थित इर्मोटल्स क्लबले जितेको छ ।

डिपो कलेजमा बुधबार भएको फाइनलमा डिपो कलेजलाई ४८–२५ अंकले हराउदै इर्मोटल्सले उपाधि जितेको हो । इर्मोटल्सले प्रत्येक क्वार्टरमा क्रमशः १२, १४, १७ र ५ स्कोर गरेको थियो भने डिपोले क्रमशः ४, ८, ४ र ९ स्कोर गरेको थियो । इर्मोटल्सबाट राष्ट्रिय खेलाडी अनुषा मल्ल ठकुरीले सर्वाधिक २५ स्कोर गरिन । डिपोकी खेलाडी डा.आशा राईले व्यक्तिगत १० स्कोर गरिन् ।

IMG_4234

च्याम्पियन इर्मोटल्सले नगद १० हजार, च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र हात पायो । उपविजेता डिपोले नगद ५ हजार, उपविजेता ट्रफी, मेडल र प्रमाणपत्रमा हात पार्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इर्मोटल्सकी अनुषा मल्ल ठकुरी घोषित हुदै नगद २ हजार र ट्रफी हात पारिन् भने फाइनलको प्लेयर अफ दि म्याच डिपोकी डा.आशा राई र उदयीमान खेलाडी घोषित डिपोकी प्रिति राईले ट्रफी र प्रमाण पत्र थापिन् ।

IMG_4239

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आयोजक धरान बास्केटवल संघका अध्यक्ष एवं संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, प्रमुख अतिथि एवं वडा नं १८ का अध्यक्ष प्रविण राई, डिपोका प्राचार्य राजकुमार राई, पत्रकार जनकऋर्षि राई, सगरमाथा कलेजका सहायक प्रिन्सिपल विशाल राई, पुर्वखेलाडी सुजनमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए । सोमबारदेखि शुरु भएको प्रतियोगितामा धरानका विभिन्न कलेज र क्लब गरी ८ टिमले सहभागिता जनाएको थियो । महिला बास्केटवल खेलाडी उत्पादन गर्ने र खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।