इनरुवा:नेपाली कांग्रेस सुनसरीले बुधबार पहिलो चरणको हिमाल, पहाड़ तराई मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ।

नेपाली कांग्रेस सुनसरीले आज देवानगजमा एक कार्यक्रमको आयोजना गरेर अभियानको सुरुवात गरेको छ । कांग्रेस सुनसरीको राष्ट्रिय जागरण अभियानमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको पनि उपस्थिति बाक्लो रहेको थियो । उक्त उपस्थितिले कांग्रेस सुनसरीको जागरण अभियान घर पुग्ने भन्दै कांग्रेसका कार्यकर्ता तथा नेताहरु उत्साहित छन् । यसअघि सम्पन्न संघीय निर्वाचनमा सुनसरी जिल्लाबाट काँग्रेस किल्ला बचाउन सफल भएको थियो ।

महासमिति बैठकले पारित गरेको नीति, कार्यक्रम तथा संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्मलाई जानकारी दिने उद्देश्यसहित यो अभियान सुरु भएको हो । साथै, कांग्रेसको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धी तथा समृद्धिको दिशामा गरिएका कामको पनि अभियान मार्फत जनतालाई जानकारी गराउने कांग्रेसको तयारी हो । जागरण अभियान ३ चरणको हुनेछ ।

कांग्रेस एकढिक्का भएको सन्देश:आचार्य

IMG_0725

सुनसरी जिल्ला पार्टी सभापती तथा प्रदेश सांसद एवम् प्रतिपक्ष दलका नेता राजिव कोइरालाको अध्यक्षतामा अभियान शुरु भएको हो । कार्यक्रममा पुर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेस केन्द्रिय सदस्य महेश आचार्य प्रमुख अतिथि थिए । कार्यक्रममा प्रमुख अतिथी आचार्यले कांग्रेस एकढिक्का भएको जागरण अभियानको पहिलो सन्देश भएको बताएका छन् । कांग्रेस आफैमा एक हुनसके मात्रै अभियान सार्थक हुने भन्दै उनले जनताको मन जित्ने गरी पार्टीलाई एकता र बिचारमा प्रतिबद्धता कायम हुनुपर्ने पनि बताए । समय अनुसारको पार्टी नितिलाई अबलम्बन गर्नुपर्ने उनको भनाई थियो ।

बर्तमान सरकारले गर्ने गलत कार्यको खुलेर बिरोध गर्न र जनताको साथमा उभिनसमेत नेता आयार्यले कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । विकास विरोधी आफुहरु नभएको तर सरकारले गर्ने गलत कार्यको भने भण्डाफोर गरेर जनतालाई सचेत पार्न उनले आग्रह गरे । जागरण अभियानको क्रममा कांग्रेस पार्टीको एकता, समन्वय साथै पार्टी सुदृढीकरणका गतिविधि बढाउने उनको भनाई थियो । सरकारद्वारा नियमित हुनुपर्ने कामलाई पनि दुई तिहाईको दम्भमा बंग्याएर उल्टो विकास लाद्न खोजेको उनको आरोप थियो ।

नेकपाका नेता,पुर्वप्रहरी पनि कांग्रेसमा प्रवेश

IMG_0739

नेकपाका पुर्वजिल्ला सदस्य योगेश राई, युथ फोर्स इनरुवा इन्चार्ज सागर आचार्य र पुर्व प्रहरी निरीक्षक पञ्चु चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेसले मात्र देशमा विकास र समृद्धि ल्याउन सक्ने भन्दै आज जागरण कार्यक्रममा कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई प्रमुख अतिथी एवं केन्द्रिय सदस्य महेश आचार्य, सुनसरी पार्टी सभापति कोइरालाले स्वागत गर्नुका साथै पार्टीको सदस्यता बितरण गरेका थिए ।