इटहरी : पछिल्लो समय सामूदायिक विद्यालयहरुमा आफ्ना बालबालिकालाई अध्यापन गराउनका निम्ति अभिभावकहरु उत्साहित देखिएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै इटहरीका सामूदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा अध्यापन हुने भएपछि अभिभावक उत्साहित भएका हुन् । तथापी, केही साता यता मात्रै इटहरीको जनता माविले अंग्रेजी माध्यमको नाममा ब्रम्हलुट मच्चाएको स्थानीयले आरोप लगाएका थिए । इटहरीको जनता माविले विद्यार्थीको प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गरेको भएपनि चर्को शुल्क लिएकोप्रति अभिभावकले आपत्ती जनाउँदै आएका थिए ।

यसैबीच, अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्दै आएको तरहराको एकमात्र सामूदायिक विद्यालय जनसहयोग माविमा भर्ना शुल्क सहित अन्य कुनै पनि मासिक शुल्क तिर्न नपरेपछि अभिभावकहरुले उत्साहित रुपमा विद्यार्थीलाई अध्यापन गराउँन ल्याउने गरेको विद्यालयका प्रधानाध्यापक मोहन दाहालले बताए । उनले भने, ‘१ देखि ५ कक्षा सम्म अंग्रेजी माध्यममा मात्रै अध्यापन गराउँदै आएका छौँ, ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराउँदै आएका छौँ ।’ दाहालका अनुसार अहिले नयाँ सत्रमा दुई सय भन्दा बढी नयाँ विद्यार्थी अंग्रेजी माध्यममा भर्ना भएका छन् । ६ सय १२ जना जम्मा विद्यार्थी मध्ये ३ सय ३७ जना अंग्रेजी माध्यममा अध्यापन गर्दै आएको उनको भनाई थियो । ‘हामीले भर्ना शुल्क मात्रै हैन बर्षभरी नै निःशुल्क रुपमा अध्यापन गर्दै आएका छौँै,’ उनले भने, ‘हामीले विज्ञापन गर्नका लागि हैन, यो वर्ष नै गुणस्तरीय नतिजासहित हाम्रो विद्यालय अब्बल बन्नेमा आशाबादी छौँ ।’
निजी विद्यालयमा अध्यापन गर्दै आएका विद्यार्थीहरु पनि अहिले धमाधम आईरहेको दाहालले सुनाए । उनले भने, ‘पहिला भन्दा अभिभावकको सक्रियता पनि राम्रो छ, बेलाबेला विद्यार्थीको अवस्था बुझ्न आईरहनुहुन्छ । हामीले अहिले मल्टिमिडिया र प्रोजेक्टरको माध्यमबाट अध्यापन गराउँदै आएका छौँ ।’ उनका अनुसार अहिले कक्षा ६ देखि ८ सम्म मात्रै कम्प्यूटर पढाई हुने भएको भएपनि आगामी दिनमा कक्षा १ देखि १२ सम्म नै कम्प्यूटर पढाउने तयारी गरिएको छ । उनी भन्छन्, ‘अहिले मल्टिमिडिया र प्रोजेक्टरको माध्यमबाट पढाई हुनु र सीसी क्यामेराको निगरानीले पनि विद्यार्थीको शिक्षामा गुणस्तरीयता प्रदान गर्छ ।’ आँफूहरुले अंग्रेजी माध्यममा पढ्नेका लागि प्रवेश परीक्षा लिएर योग्यताको आधारमा अध्यापन गराउँदै आएको दाहालले सुनाए । अंग्रेजीमा सामान्य वेश नहुँदा नेपाली व्याकरणमा अब्बल बनाउँदै लैजाने बताउँदै उनले सामूदायिक विद्यालयलाई अब्बल बनाउँदै लैजाने दाहालले बताए ।

इटहरीका मात्रै नभई अहिले देशैभरीका सामूदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा अध्यापन हुने तथा गुणस्तरीय शिक्षा प्रदान हुनेमा आशाबादी बनेका अभिभावकहरुले धमाधम सामूदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न थालेका छन् ।