ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रलोभनमा फस्दा बेचिन्छन् चेली” शीर्षकको समाचार छापिएको छ । फेसबुकमा भेट भएका केटा साथीलाई विश्वास गर्दा मोरङ जिल्लाकी १७ वर्षीय सृजना राई (नाम परिवर्तन) झण्डै बचिन पुगीन् । उनलाई भण्टाबारीस्थित सशस्त्र प्रहरीको टोली र मानवअधिकार संरक्षण केन्द्र भण्टाबारीका अध्यक्ष शिवेन्द्र कर्ण नेतृत्वको टोलीले उद्धार गर्यो । मोरङ रमाइलोकी १९ वर्षीय आरती कटुवाल –नाम परिवर्तन) लाई सोही स्थानकी दिदीबहिनीले भारतमा काम लगाइदिने भने बेचविखनका लागि लैजादै गर्दा पक्राउ परिन् । रोजगारीको प्रलोभन दिइ भारतमा बेचबिखनका लागि लैजादैँ गर्दा सशस्त्र प्रहरी र भारतीय एसएसबीको सहयोगमा भण्टाबारीबाट मानवअधिकार संरक्षण केन्द्रले आरतीको उद्धार गरी दलाल दिदीबहिनीलाई नेपाल प्रहरीको जिम्मा लगायो । रोजगारीको प्रलोभन र फेसबुकको चिनजानकै आधारमा विश्वास गर्दा धेरै युवतीहरु बेचबिखनको जोखिममा पर्ने गरेका छन् । सुनसरीको कोशी गाउँपालिका ८ भण्टाबारी नाकाबाट मात्र बेचबिखनका लागि लैजादैँ गर्दा २४ जनाको उद्धार गरिएको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “गैरदलित विवाह गरेको भन्दै गाउँलेमाथि कुटपिट” शीर्षकको अर्को समाचार पनि छापिएको छ । गैरदलित केटी भगाएर विवाह गरेको आरोपमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ५ का आधा दर्जनभन्दा बढी दलितमाथि कुटपिट भएको छ । वडाध्यक्ष श्रीप्रसाद यादवको नेतृत्वमा स्थानीय खत्वे टोलका मोहन खङ्ग, डम्बर खङ्ग, जुक्तिया खङ्गलगायतलाई कुटपिट भएको हो । खत्वे टोल निवासी विलक्षण खङ्गका छोरा राजुले मनोजकुमार सिंहकी छोरी साक्षीकुमारीलाई भगाएपछि आक्रोसित समूहले आफुहरुलाई कुटपिट गरेको पीडितहरुले गुनासो गरे । राजुले वैशाख १५ गते साक्षीलाई भगाएको जनाइएको छ । उनले दुईदिन अघि मात्रै अर्की केटीसंग विवाह गरेका थिए । तिमीहरुले नै केटाकेटी भगायौ भन्दै कुटपिट गरेको उनीहरुको गुनासो छ । पीडितले कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

औजार : आजको औजार दैनिकमा “मृगौला पीडितद्वारा सहयोगको अपिल” शीर्षकको समाचार छापिएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ सुकुम्बासी टोलमा बसोबास गर्दै आएका ५१ वर्षीया मृगौला रोगी गंगा ताजपुरीयालाई आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकै कारण ताजपुरीयाको मृगौलाको उपचारमा समस्या उत्पन्न भएको छ । सुरु सुरुमा शरिर सुन्निने, दुख्ने र पिसाव नजाने र रोकीने लक्षणहरु देखा परे, ताजपुरीयाले भने, चार वर्षदेखी निरन्तर स्थानीय क्लिनिक तथा अस्पतालसम्म पुगे तर रोग के हो ? भन्ने पत्ता लगाउन सकेनन् । मृगौला पीडित ताजपुरियाका अनुसार रोग पत्ता लगाउनै लामो समय लाग्यो, लामो समय क्लिनिक र अस्पतालहरुमा भौतारिरहनु परेको कारण घरायसी सारा सम्पती स्वाहा भयो । २०७४ सालमा विराटनगरस्थित नोबेल अस्पतालमा एउटा मृगौला फेल भइसकेको र अर्को मृगौला पनि स्वस्थ नरहेको डाक्टरले बताएको ताजपुरीया बताउँछन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “ताप्लेजुङमा रासायनिक मलको चरम अभाव” शीर्षकको समाचार छापिएको छ । किसानलाई मल तथा बिउबिजनमा अधिकतम सहयोग गरेर कृषिक्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी लक्ष्य रहेको वर्ष नै ताप्लेजुङका किसानले रासायनिक मलको चरम अभाव खेपेका छन् । सुन्दै अपत्यारिलो लाग्ने अभावको क्षण यस्तो छ कि, यहाँका किसानले करिब १ हजार मेट्रिकटन रासायनिक मलको माग गर्छन, मल दिनेले ७ मेट्रिकटन मात्र दिन्छ । यो दयनिय अवस्था सुन्दा मलको अभावले यहाँका किसान कत्तिको जलिरहेको छन् भन्ने प्रष्ट हुन्छ । अलैंची जोन ताप्लेजुङका कार्यालय प्रमुख धीरेन्द्र मिश्रका अनुसार यहाँका किसानमा रासायनिक मलको सबैभन्दा बढी माग र आवश्यकता मकैबालीका लागि हो । त्यसपछि धानखेतीमा समेत मलको प्रयोग हुदै आएको छ । तर यहाका अधिकार किसानले एक गेडो पनि मल खरिद गर्न पाएका छैनन् । मल ढुवानीका लागि सरकारले अनुदानको व्यवस्था गरेको छ ।