काठमाडौं : संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन् ।

पार्टी्भित्र छलफल र बहसै नगराई हठात् एकता प्रक्रियामा सहभागी भएको भन्दै उनीहरूले नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन बुझाउने भएका हुन् ।

कृषिविज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले बाबुरामलाई ज्ञापन बुझाउने निष्कर्ष निकालेको भेलामा सहभागी नेता नारायण तिवारीले जानकारी दिए ।
‘पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास भएन, नयाँ शक्तिले उठाएका ५ ‘स’ को एजेन्डाको सम्बोधन भएन, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित भएन’, नयाँ शक्तिका केन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले भने, ‘यस विषयमा बाबुराम भट्टराईलाई लिखित ज्ञापन बुझाउने निर्णयमा पुगेका छौं ।’
–अन्नपूर्ण पोस्ट् दैनिकबाट