धरान:महिलाहरुलाई उद्यमशिल बनाउने उद्देश्यले धरानमा कृष्टलको माला तथा विभिन्न गरगहना बनाउने तालिम दिइएको छ ।

धरान–१५ नम्बर वडा कार्यालयको आयोजना र हातेमालो उद्यमी महिला समूहको संयोजनमा बैशाख ५ गतेदेखि आयोजना भएको तालिम समापन भएको छ । वडाको यूरेसिया रेयूकाइको भवनमा आयोजित तालिममा १५ जना महिलाहरु सहभागी भएको समूहकी अध्यक्ष लिला ढकालले बताइन् । तालिममा कृष्टलको माला बनाउन र जातीय संस्कृतिका गरगहना बनाउन सिकाइएको थियो ।

उक्त तालिमको सहजीकरण समूहकी अध्यक्ष ढकाल स्वंयमले दिएकी थिइन् । तालिमको समापनमा बोल्दै वडाध्यक्ष नरेशकुमार इवारमले तालिमले महिलाहरुमा सीपको विकास भएको र यसले आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यालय धरानमा भर्खरै प्रमुखको जिम्मेवारी सम्हाल्न आएका डिएसपी ढुण्डिराज पोख्ररेललाई पनि स्वागत गरिएको थियो ।