धनुषा: दुई साताअघि जलेर मृत्यु भएकी शहीदनगरपालिका १ चिरैया टोलकी निर्मला यादवको आफ्नै पति मुकेश गोइतले जलाएर हत्या गर्नुमा भाउजुसँगको प्रेम सम्बन्ध भएको खुलेको छ ।

मुकेशको आफ्नै भाउजु श्यामा देवीसँगको प्रेम सम्बन्धको कारण श्रीमतिलाई जलाएर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ । भाउजुको उक्साहटमा मुकेशले पत्नी निर्मलालाई पेट्रोल छर्केर आगो लगाएको प्रहरी उपरीक्षक(एसपी) शेखर खनालले जानकारी दिए । प्रहरीले मृतक निर्मलाकी पति मुकेश र भाउजु श्यामा दुवैलाई पक्राउ गरिसकेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ ।

प्रहरीले घटनापछि फरार मुकेशलाई करिब ३ सातापछि पक्राउ गरेको थियो । बुधबार उनलाई कञ्चनपुर जिल्लाको गड्डाचौकी क्षेत्रबाट समातेको एसपी खनालले जानकारी दिए । घटनामा संलग्न मुकेशसँगै उनकी भाउजू श्यामालाई पनि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

निर्मला र मुकेशबीच करिब १० महिना अघि मात्र विवाह भएको थियो । निर्मलासँग विवाह गरेका मुकेश भने आफ्नै भाउजु श्यामासँग प्रेममा डुबेका थिए । दुवैबीच अवैध प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । उनीहरुको यो प्रेमलिला निर्मलाले थाह पाएपछि झगडासमेत हुने गरेको थियो । शुरुमा मुकेशले कपडा मात्र जलाउन खोज्दा भाउजु श्यामाले नै मान्छे नै जलाइदेऊ भनेर उक्साएपछि यही वैशाख ५ गते मुकेशले निर्मलाको जिउमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए । जलेर गम्भीर घाइते भएकी निर्मलाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा ११ दिनपछि (बैशाख १६ गते) मृत्यु भएको थियो ।