काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो । हाल ७५३ वटा स्थानीय तहमा झण्डै १६ हजार कर्मचारी रिक्त छ । मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरेको थियो । त्यसरी माग गरेपछि ४३७ वटा स्थानीय तहले ११ हजार ४९२ पदको विवरण मन्त्रालयमा पठाएका थिए ।
स्थानीय तहको मागका आधारमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका पदमा लोकसेवाले अब छिट्टै विज्ञापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए । ४३७ बाहेक अन्य स्थानीय तहबाट विवरण नआएकाले थप संख्या भने मन्त्रालयले आयोगमा पठाएको छैन । बाँकी स्थानीय तहबाट विवरण आएमा फेरि थप संख्यामा पदपूर्तिको माग गर्दै आयोग पठाइने मन्त्रालयले जनाएको छ । लोकसेवा आयोगले विज्ञापन गर्दा स्थानीय तहकै लागि भन्दै विज्ञापन गर्नेछ र उत्तीर्ण भएका सबै स्थानीय तहकै कर्मचारीका रूपमा रूपान्तरण हुने आयोगले जनाएको छ ।